जानकी- जिपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । गएराति पूर्व पश्चिम राजमार्गमा पर्ने बाँके कोहलपुरको मदनचोकमा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीलाई भे १ च ३४०७ नम्बरको जिपले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

जिपको ठक्करबाट प्रहरी सहायक हवल्दार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएका छन् । कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको बाँकेका प्रहरी प्रवक्ता नारायाण डाँगीले बताए ।


ठक्कर दिएर फरार भएका जिप चालक दाङको घोराही उपमहानगरपालिका–११ का २० वर्षीय अर्जुन बस्नेतलाई कोहलपुर–२ बाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















