काठमाडौँ- कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गर्न नेपालले फेरि कतारसँग आग्रह गरेको छ ।
परराष्ट्रमन्त्री एनपी साउद हिजोदेखि सुरु भएको २१औँ दोहा फोरममा सहभागी हुन कतार पुगेका छन् । सोही क्रममा उनले कतारका परराष्ट्र राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँग जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् ।



कतारी राज्यमन्त्री खुलाइफीले जोशीको रिहाइका लागि लगातार रुपमा लागिरहेको जवाफ दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जोशीको रिहाइका लागि अघिल्लो हप्ता पनि परराष्ट्रमन्त्री साउदले कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग भेट गरी आग्रह गरेका थिए भने कतार जानुअघि पनि इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुरा गरेका थिए ।
हमासले बन्धक बनाएका भनिएका जोशीको रिहाइका लागि सरकारले पटकपटक आग्रह गरे पनि उनको अवस्थाबारे अझै थाहा हुन सकेको छैन ।

















