बझाङ- बझाङमा स्थानीयलाई पेस्तोल पट्काउन दिएका प्रहरी असई पुस्कल चन्द निलम्बित भएका छन् । छविसपाथिभेरा गाउँपालिका–३ पाटागाउँमा पूर्व गाउँपालिका अध्यक्षसमेत रहेका अक्कल धामीलाई नियमविपरीत आफ्नो पेस्तोल पट्काउन दिएका चन्द शुक्रवार पदबाट निलम्बित भएका हुन् ।

उनले गत कात्तिक ६ गते धामीलाई रमाइलोका लागि आफ्नो पेस्तोल पट्काउन दिएका थिए । घटनाबारे थाहा पाएपछि अनुसन्धान सुरु गरेको बझाङ प्रहरीले असई चन्दलाई पदबाट निलम्बन गरिएको जनाएको छ ।

बझाङ प्रहरी प्रमुख तथा डिएसपी भरतबहादुर शाहका अनुसार पेस्तोल पट्काउने पूर्व गाउँपालिका अध्यक्षलाई कारबाही गर्ने अधिकार जिल्लामा नभएकाले प्रदेशमा पत्र पठाइएको छ ।
केही दिनमै प्रदेश प्रहरी कार्यालयबाट एसपीको कमान्डमा अनुसन्धान तथा छानबिन समिति गठन गरिने र समितिको निष्कर्षपछि धामीलाई कानुनअनुसार कारबाही गरिने उनले बताए ।
















