अत्तरिया – सरकारी तबरबाट हुने जुनसुकै विकास निर्माणका कार्यका लागि पनि जनश्रमदान आवश्यक छ । सरकारले कुनै पनि सामाजिक वा विकास निर्माणका कार्यका लागि अनिवार्य रुपमा लागतको १० प्रतिशत जनश्रमदान गरिनुपर्ने कानुनी प्रावधान बनाएको छ ।

सोही प्रावधानको आधारमा कुनै पनि विकास निर्माणका कार्यहरुको इस्टमेट तयार गर्दा पनि जनश्रमदानको शीर्षक छुट्याइने गरिएको छ । तर सरकारले अनिवार्य गरेको जनश्रमदानमा भने स्थानीयहरुको सहभागिता एकदमै न्यून देखिने गरेको छ । सबै सरकारी लागतका कार्यहरुमा जनश्रमदान गर्नुपर्ने निश्चित मापदण्ड र लागत छुट्याईने गरिएको भएपनि स्थानीयहरुले जनश्रमदान भने गर्दैनन् ।

तर, कैलालीको गोदावरी नगरपालिका वडा नं. १२ का स्थानीयहरुले भने जनश्रमदानका लागि सम्झौता नै गरेका छन । सोमबार वडाको कोल्मुडामा रहेको दुर्गा माध्यमिक विद्यालयको ३ कोठे पक्कि भवन र २ कोठे पक्कि शौचालयको शिलान्यास कार्यक्रममा स्थानीयहरुले भवन निर्माणमा श्रमदान गर्ने सम्झौता गरेका हुन । बिल्ड अन नेपाल र गोदावरी नगरपालिकाको संयुक्त साझेदारीमा निर्माण हुने उक्त भवनमा जनश्रमदानका लागि स्थानीयहरुले बिल्ड अन संस्थासँग नै सम्झौता गरेका हुन । २९ लाख ९१ हजार ९९० रुपैया बिल्ड अन नेपालको र १२ लाख रुपैया नगरपालिकाको लागत हुने उक्त भवनमा १ लाख ५९ हजार ३९५ रुपैया बराबरको स्थानीयहरुले जनश्रमदान गर्नुपर्नेछ । सो जोडेर उक्त विद्यालय भवन र शौचालय ४३ लाख ५१ हजार ३८५ रुपैयामा निर्माण भैरहेको हो ।
वडा नं. १२ का वडाध्यक्ष भीम बहादुर खड्काले जनश्रमदानले सामुदायीक संरचनामा स्थानीयलाई अपनत्व महसुस गराउने बताए । उनले विकट क्षेत्रमा रहेको एकमात्रै माविस्तरिय विद्यालयको हक हितका लागि सबै स्थानीयहरु जागरुक बन्दा आफुलाई खुसी लागेको बताए । ‘नगरपालिका र बिल्ड अन मार्फत विद्यालयलाई नयाँ भवन आईरहेको छ, यसले विद्यालयमा बालबालिकाहरुले सुरक्षित तबरले अध्यापन गर्न पाउने भएका छन’ उनले भने ‘यस्तो अवस्थामा समुदायबाट पनि जनश्रमदान गर्ने सम्झौतामा स्थानीयहरुको सहभागीता देख्दा खुसी लागेको छ ।’ उनले स्थानीयस्तरबाट भवन निर्माणमा सक्दो सहयोग रहने समेत बताए । विद्यालयमा भवनको आवश्यकता खड्किरहेको अवस्थामा नगरपालिका र बिल्ड अन नेपालले गरेको सहयोग सदैव स्मरण रहने उनको भनाई रहेको छ ।
यस्तै विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष कर्ण साउँदले विद्यालयको स्तरोन्नतीका लागि स्थानीयस्तरबाट सबै अभिभावकहरु जागरुक बन्न जरुरी रहेको बताए । उनले जनश्रमदानले विकास निर्माणका कार्यको गुणस्तरता कायम रहनुका साथै आर्थिक स्थिति पनि बलियो बन्न सक्ने बताए । उनले विकट र न्यून आर्थिक स्रोत भएका समुदायमा रहेको विद्यालयलाई थप उचाईमा पु¥याउन सके बालबालिकाहरुले टाढाका विद्यालयहरुमा जानुपर्ने बाध्यता हट्ने बताए ।
जनश्रमदानका लागि विल्ड अन नेपालका पदाधिकारीहरु समेत उक्त विद्यालयमा उपस्थित भएका छन । उनिहरुले करिब ४ दिनसम्म ऊक्त विद्यालयको भवन निर्माणमा श्रमदान गर्ने बताएका थिए । त्यसैले पनि विल्ड अन नेपालकै अगुवाईमा स्थानीयहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेर आफुहरुले पनि भवन निर्माणमा जनश्रमदान गर्ने प्रतिबद्धता जनाएका थिए ।
जनश्रमदान अनिवार्य छ : नगरप्रमुख
यसैबिच नगरप्रमुख विरेन्द्र भट्टले जनश्रमदान विकास निर्माणका कार्यहरुका लागि अनिवार्य भएको बताएका छन । वडा नं. १२ कोल्मुडामा विद्यालय भवनको शिलान्यास गर्दै उनले विकास निर्माणका हरेक कार्यहरुमा जनश्रमदानको उत्तिकै महत्व रहेको बताए । ‘कतिपय कुराहरु आर्थिक अभावका कारण गर्न सक्ने अवस्था रहदैन, त्यस्तोमा स्थानीयस्तरबाट श्रमदान भयो भने काम गर्न सहज हुन्छ’ उनले भने ‘श्रमदानका कारण एउटा कार्यका लागि छुट्याईएको बजेटले अन्य कार्यहरु समेत गर्न सकिन्छ ।’
उनले कोल्मुडा बासीहरुले नै यहाँको विकासका लागि अग्रसर बन्नुपर्ने बताए । ‘विकसीत देशबाट आएका पाहुनाहरु यहाँको समुदायका लागि श्रमदान गर्न तयार हुनुहुन्छ, उहाँहरुले यहाँको विद्यालयमा आर्थिक मात्रै नभई भौतिक लगानी समेत गर्दै हुनुहून्छ’ उनले भने ‘यस्तोमा तपाई हामीहरुले पनि आफ्नो क्षेत्रको विकास निर्माणका लागि श्रमदान गर्न तयार हुनुपर्छ ।श्रमदान समुदायका लागि हो, तपाईको श्रमदानले तपाईकै समुदायलाई सहयोग पुग्छ ।’
नगरपालिकाले विद्यालय भवन निर्माणमा गरिरहेको आर्थिक सहयोगलाई समुदायले चाहे अन्य ठाउँमा पनि प्रयोग गर्न सक्ने उनले बताए । ‘विद्यालय निर्माणका लागि नगरले बजेट छुट्याएको छ, तर समुदायस्तरबाट श्रमदान भए, त्यो बजेटले अन्य कामहरु गर्न सकिन्छ’ उनले भने । उनले स्थानीयस्तरबाट श्रमदान भए विद्यालय भवनको काम छिटो हुने र विद्यार्थीहरुलाई अध्यापनमा सहजता हुने समेत बताए ।