अत्तरिया – कैलाली च्याम्बर अफ कमर्सले प्रदेशका ९ वटै जिल्लाका पर्यटकीय क्षेत्र समेटिएको ‘माई ट्राभल डायरी’ को विमोचन गरेको छ । शनिबार अत्तरियामा आयोजित एक कार्यक्रमका बीच प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले ट्राभल डायरीको विमोचन गरेका हुन ।
ट्राभल डायरीमा सुदूरपश्चिमका नौ वटै जिल्लाका पर्यटन क्षेत्रहरूको फोटो सहित विभिन्न जानकारी समेटिएको कैलाली च्याम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले बताए । उनले सुदूरपश्चिम घुम्न चाहनेका लागि च्याम्बरको तर्फबाट ट्राभल डायरी कोशेलीको रुपमा वितरण गरिने बताए ।

ट्राभल डायरीको पहिलो कबर पृष्ठमा कैलालीबाट कर्णाली, डोटीबाट खप्तड, अछामबाट रामारोशन, बझाङबाट सैपाल, बाजुराबाट वनक्षेत्र, कञ्चनपुरबाट शुक्लाफाँटा, डडेल्धुराबाट अमरगढी किल्ला, बैतडीबाट रैलेश्वरकेदार र दार्चुलाबाट अपिहिमालका तस्बिर राखिएका छन । त्यस्तै ट्राभल डायरीको अन्तिम कबर पृष्ठमा सुदूरपश्चिमका धार्मिक पर्यटकीय क्षेत्र राखिएको छ ।
डायरी भित्रको पहिलो पानामा धनगढीबाट सुदूरपश्चिमका कुनकुन पर्यटकीय क्षेत्रमा पुग्नका लागि कति किलोमिटर यात्रा गर्नुपर्छ, सुदूरपश्चिमको जनसंख्या, सुदूरपश्चिमको भूगोलको जानकारी लगायतका सामग्री समेटिएको छ । त्यसपछिका पानामा हरेक जिल्लाका पर्यटकीय क्षेत्रका तस्बिर राखेर बीचमा टिपोट गर्न सहज होस भन्नका लागि ५/५ पाना खाली छोडिएको छ ।
कैलाली च्याम्बर अफ कमर्सका अध्यक्ष मल्लले सुदूरपश्चिम प्रदेश घुम्ने पर्यटकको सहजताका लागि ट्राभल डायरी सँगै सुपआईडल ब्रान्ड डटकम वेबसाइट पनि तयार पारिएको बताए । उनले वेबसाइटमा सुदूरपश्चिमका उत्पादन, होटल, एम्बुलेन्स नम्बर, साहित्यिक सामग्री, उद्धारका जानकारी पनि समेटिएको बताए ।

सरकार सँग पर्यटन विकासको योजना छैन
विमोचन कार्यक्रममा बोल्दै मन्त्री धामीले सुदूरपश्चिमको पर्यटन विकासको लागि बोल्ने मात्रै नभएर काम गर्ने समय आएको बताए । उनले कैलाली च्याम्बरले ल्याएको ट्राभल डायरीले प्रदेशको पर्यटन क्षेत्रको विकासका सहयोग पुग्ने बताए ।

उनले अहिले पनि प्रदेश सरकार संगै पर्यटनको विकासका लागि योजना नभएको बताए । ‘हाम्रा नौ वटा जिल्लामा के– के गर्ने, धार्मिक पर्यटकीय हिसाबले कुन क्षेत्रको विकास गर्ने, प्राकृतिक सम्पदाको कुन क्षेत्रलाई प्राथमिकता दिने, हामीले बनाएका आर्टिफिसिएल पर्यटकमय क्षेत्र कसलाई प्राथमिकता दिने, कुन नदीनालालाई प्राथमिकता दिने भन्ने हामीसँग अहिले सम्म योजना छैन’ उनले भने ‘हामी सबैलाई अहिले मेरो घर वरिपरि कसरी बजेट पुगाउने भन्ने चिन्ता मात्रै छ । कुल देवताको मन्दिरमा ५ लाख कसरी हाल्ने चिन्ता छ ।’
अहिलेको तरिकाले पर्यटन क्षेत्रको विकास नहुने भन्दै उनले आगामी आर्थिक वर्षमा आफूले बजेट बनाउँदा प्रदेशका ५/७ वटा क्षेत्रलाई मात्रै प्राथमिकता दिएर बजेट विनियोजन गर्ने बताए ।


















