बझाङ – बझाङमा जीप दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ मा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका बुड्खोरीका इनार महतको मृत्यु भएको हो ।

उनको टाउको र कम्मरमा गम्भीर चोट लागेको थियो । उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जीप आज बिहान साढे १० बजे छबिसपाथिभेरा–७ खोरीमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए ।

जीपमा चालक विनोद धामीसहित ९ जना रहेका थिए । बाँकी दुर्घटनामा परि घाइते भएका छबिसपाथिभेरा गाउँपालिका –७ बुड्खोरीका पाँच जना रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र मिलन धामी जिल्ला अस्पतालमा उपचाररत छन् ।
उनीहरूमध्ये प्रकाशको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । जीप चालक र अन्य दुई जना भने सकुशल छन ।

















