धनगढी – धनगढीबाट बझाङ जाँदै गरेको कर्णाली रिभर यातायातको ना ४ ख १९८३ नम्बरको बस दुर्घटनामा परेको छ । शुक्रबार बिहान भएको दुर्घटनामा सडकबाट चिप्लिएर बस भीरमा अड्केको हो ।

बझाङको जयपृथ्वी नगरपालिका–७ सुबेडाको चौठ्या खोलामा उक्त दुर्घटना भएको हो । बसमा २२ जना यात्रु सवार थिए । बीच सडकमा तेर्सो परेर बस अड्किएका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बसको पट्टा भाँच्चिएर अनियन्त्रित हुन पुगेको तर मानवीय क्षति भने नभएको सुदूरपश्चिम यातायातका काउन्टर इन्चार्ज जीवन खड्काले बताए ।

चौठ्या खोलामा आउने बाढीले बगाएर ल्याएको ढुङ्गामाटो व्यवस्थित नगर्दा सो दुर्घटना भएको स्थानीयको अनुमान छ । खोलामा आएको बाढी सडकमा जाने गरेको र ढुङ्गामाटो थुप्रिँदा सडक बिग्रेको स्थानीय दिपकराज जोशीले बताए ।

















