
अत्तरिया – सहरलाई सुन्दर बनाउन त्यस ठाउँमा भएका पार्कको ठूलो भूमिका हुन्छ । घना बस्ती भएका सहरमा पार्क भएनन् भने त्यहाँ बस्ने मानिसलाई पनि उकुसमुकुस बनाउँन्छ । सुदूरपश्चिमको राजधानी नै घोषणा गरिएको अत्तरिया क्षेत्र पनि शहरीकरणको दिशा तर्फ उन्मुख छ । गोदावरी नगरपालिका भित्र रहेको यो क्षेत्रमै राजधानी घोषणा गरिनु, नजिकै ठूलो सहर धनगढी हुनुले पनि भविष्यमा यस क्षेत्रको जनघनत्व बढ्ने आकलन गर्न सकिन्छ । अहिले अत्तरिया आसपासमा पार्क निर्माणका लागि खाली ठाउँ भेटिने गरेका भएपनि भविष्यमा यस्ता ठाउँ भेटाउन मुस्किल पर्ने सम्भावना पनि उत्तिकै छ । त्यसैले भविष्यको चिन्ता र वर्तमानको आवश्यकता रुपमा पनि अत्तरियामा खुला ठाउँको रुपमा पार्कलाई लिने गरिन्छ । जुन विस्तार हुँदै गएको घना बस्तीका मानिसलाई खुला ठाउँको अनुभूति गराउनुका साथै पर्यटकीय हिसाबले पनि महत्वपूर्ण छ ।
अत्तरियामा पार्क आवश्यकताको महसुस धेरै पहिले देखि गरिदै आएको भएपनि यसले अझै पनि मूर्त रूप भने लिन सकेको छैन । अत्तरियामा चोक नजिकै पार्क बनाउने भनेर ७ वर्ष अघि नै योजना अगाडि सारिएको थियो । जसका लागि अत्तरियाको पूर्व रोडमा रहेको दुर्गा मन्दिर पछाडिको क्षेत्र छुट्याइएको भएपनि हालसम्म पनि त्यहाँ पार्कले आकार लिन सकेको छैन ।
हरी सिह साउँद नेतृत्वको स्थानीय सरकारले सुरक्षा सामुदायिक वनमा पर्ने सो क्षेत्रमा पार्क निर्माण गर्ने भनेर डिपिआर पनि तयार गरेर घेराबार गरेको थियो । तर, पछि वन कार्यालयले बलमिच्याँई गरेर सो क्षेत्रमा हाल सशस्त्र वन रक्षक तालिम केन्द्र निर्माण गरिरहेको छ । पार्क निर्माणका लागि नगरले ६ हेक्टर जग्गा छुट्याएको थियो । जसमध्ये डेढ हेक्टर क्षेत्रफलमा वनले तालिम केन्द्र निर्माण गरिरहेको छ ।
पार्कका लागि छुट्याएको क्षेत्रमा वनले आफ्ना संरचना बनाएको भएपनि सामुदायिक वनले त्यसको उत्तर पट्टी पार्क निर्माणका लागि पुनः ६ हेक्टर क्षेत्र छुट्याएको थियो । जुन क्षेत्रमा यसअघि सुकुम्बासीहरुले शिविर बनाएर बसेका थिए । वनको अतिक्रमण हटाएर उक्त क्षेत्रमा पार्क बनाउने भनिएपछि सो योजना पनि योजनामै सीमित बनेको छ ।
पार्क बनाउने भनेर सो क्षेत्रमा गोदावरी नगरपालिकाले २० लाख खर्चे गरिसकेको छ भने वनस्पति अनुसन्धान केन्द्र कैलालीले ५ लाख खर्च गरेको थियो । त्यस्तै ठाउँमा पार्क निर्माण गर्ने भनेर संघ सरकारबाट पनि बजेट विनियोजन भएको थियो । ‘अत्तरिया पार्क’ निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पूर्वाधार विकास तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७७ अनुसार ४ करोड ९४ लाख विनियोजन गरेको भएपनि सो रकम पनि कार्यान्वयनमा आउन सकेको छैन ।
उक्त रकम नगर संगको साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रम अन्तर्गत पार्क निर्माण गर्न योजना अगाडि सारिएको थियो । जसका लागि संंघिय मन्त्रालयको तर्फबाट ३ करोड २२ लाख छुट्याइएको छ भने नगरपालिकाको १ करोड ७२ लाख बजेट विनियोजन गरिएको थियो । सो कार्यक्रम पनि हाल अलपत्र अवस्थामा रहेको छ । अत्तरियामा समय समयमा पार्क निर्माण गर्ने भनेर बजेट समेत विनियोजन गरिदै आएको भएपनि हालसम्म पनि पार्क बन्न सकेको छैन । जसका कारण अत्तरिया बजार पार्क विहीन अवस्थामा रहेको छ ।


















