बेंगलोर – देउडा प्रतिष्ठान भारतको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो भन्ने मूल नाराका साथ आयोजित डेउडा प्रतिष्ठान भारत शाखा प्रथम बार्षिक साधारण सभा तथा वार्षिकोत्सव समारोह सम्पन्न भएको हो ।

देउडा प्रतिष्ठान भारत शाखा बेङ्लोरका संस्थापक अध्यक्ष यज्ञराज भट्टको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुरत रावत डोटेली कान्छा प्रमुख अतिथि रहेका थिए भने नेपाली जनसम्पर्क समिति भारतका क्षेत्रीय महासचिव माधबराज खडायत विशिष्ट अतिथि रहेका थिए ।

साधारण सभामा बोल्दै प्रमुख अतिथि एवं डेउडा प्रतिष्ठानका केन्द्रीय बरिष्ठ उपाध्यक्ष सुरत रावत डोटेली कान्छाले प्रवासमा रहेर पनि नेपाली भाषा, कला, संस्कृतिको संरक्षण सम्र्वद्धन एवं प्रचारप्रसारमा देउडा प्रतिष्ठानका कलाकारहरुले उल्लेख्य भुमिका निर्वाह गरेको बताए । उनले संस्थागत रुपमा प्रबासमा रहेका कलाकारहरुलाई अझै संगठित गरेर लैजानुपर्ने बताए ।

ब्यक्तिगत रुपमा कला संस्कृतिको संरक्षणमा लागेका कलाकारहरुलाई उनले संस्थामा आवद्ध हुन आग्रह गरे । ‘विशेष गरि काली देखि कर्णालीसम्म बसोबास गर्ने नेपालीहरु अधिकांश भारतमा रहेका छन’ उनले भने ‘हामीहरु सबैले मिलेर हाम्रो पहिचानको रुपमा रहेको देउडालाई देश बिदेशमा प्रचारप्रसार गर्नुका साथै देउडा गीत संगीतमा लागेका कलाकारहरु संस्थागत रुपमा अघि बढ्न आवश्यक छ ।’
कार्यक्रमका विशिष्ट अतिथि नेपाली जनसम्पर्क समिति भारतका क्षेत्रीय महासचिव माधबराज खडायतले प्रबासमा रहेका कलाकारहरुले संस्था स्थापना गरि यति ठुलो कार्यक्रम आफैं आयोजना गरेर बार्षिकोत्सव मनाउनु खुसीको कुरा भएको बताए । प्रवासमा रहेर विभिन्न उद्देश्यले स्थापना गरेका संघसंस्था बिच एक आपसमा समन्वय हुनुपर्ने उनको भनाई छ । प्रवासमा रहेका बेला आफ्नो मातृभुमी प्रतिको माया अथाह रहने भएकाले पनि नेपालीले गर्ने हर क्रियाकलापमा नेपाली पन नेपाली मन हुन जरुरी रहेको उनले बताए ।
साधारणसभामा एक दर्जन भन्दा बढी कलाकारहरुले आ–आफ्नो प्रस्तुति प्रस्तुत गर्नु का साथै संस्थाका बिबिध गतिविधि प्रस्तुत गरिएको संस्थाका उपाध्यक्ष एवं संगठन बिभाग प्रमुख बिरेन्द्र साउँदले बताए । प्रवासमा रहेका तमामौं कलाकारहरुलाई संगठित गर्न भारतमा प्रतिष्ठान स्थापना गरिएको थियो ।
कार्यक्रममा यज्ञराज भट्ट, करन बि.क, शुदर्शन थापा, करन बिष्ट, तपेन्द्र रावल, बसन्ती शाही, जानकी देवी दौल्याल, शुरेश खत्री, संगीता रावल थापा, लक्ष्मी बिष्ट, धर्मा ओखेडा, सीता शाही, कमला खडका, पुषराज खत्री लगायतका कलाकारहरुले आ–आफ्नो प्रस्तुति प्रस्तुत गर्नुका साथै गुन्यु चोली र नेपाली दौरासुरुवालमा रहेका दर्जनौं कलाकारहरुले डेउडा खेल खेलेका थिए । संस्थाका बर्तमान अध्यक्ष करन बि.क.ले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन बिरेन्द्र साउँद र शुदर्शन थापाले गरेका थिए ।
