अत्तरिया – गेटामा निर्माणाधिन शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक चालु संसदबाटै अनुमोदन गरिनुपर्ने लगायतका माग गर्दै अत्तरियामा सिट्टी बजाएर विरोध प्रदर्शन गरिएको छ । शनिबार साँझ शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विधेयक अनुमोदन संगै गेटामा तत्काल ६ सय शैय्याको अस्पताल संचालन गरिनुपर्ने माग गर्दै सिट्टी बजाएर प्रदर्शन गरेको हो ।

उनीहरुले बिभिन्न नारा लेखिएका पोष्टर छातीमा टासेर सिट्टी बजाउँदै अत्तरिया बजार परिक्रमा गरेका थिए । संघर्ष समितिका संयोजक लोक राज पाण्डेयले गेटामा स्वास्थ्य विश्वविद्यालय स्थापनाका लागि भइरहेको चरणवद्ध आन्दोलनका कार्यक्रम अन्तरगत सरकारको कान, आँखा खोल्न सिट्टी बजाएर विरोध प्रदर्शन गरिएको बताए । उनले पटक–पटक सरकारबाट धोका पाएका सुदूरपश्चिमका जनता अब माग पुरा नहुँदा सम्म पछि नहट्ने बताए ।

संघर्ष समितिले सरकारले जेठ १५ गते बजेटमा गेटामा स्वास्थ्य प्रतिष्ठान बनाएर १ सय शैय्याको अस्पताल बनाउने घोषणा गरेपछि करिब २ साता देखि आन्दोनलका कार्यक्रम गर्दै आइरहेको छ ।
हाल सरकारका प्रधानमन्त्री र अर्थमन्त्रीले बजेटमा त्रुटी भएको स्वीकार गर्दै बजेटमा सच्याएर विश्वविद्यालय स्थापना गरिने जनाएपनि त्यसको सुनिश्चितता नभएकाले आन्दोलन जारी रहेको संघर्ष समितिले जनाएको छ ।
गेटामा सरकारले मन्त्रिपरषदबाट माघ २९ गते शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि जेठ ५ गते नीति तथा कार्यक्रममा पनि विश्वविद्यालय स्थापना गर्ने भनिएपनि बजेट भाषणमा प्रतिष्ठान बनाउने उल्लेख गरिएको थियो ।