प्रदिप मलासी/बझाङ – वर्तमान पत्रकारिताको अभ्यास र चुनौती बिषयक १ दिने अभिमुखिकरण सम्पन्न भएको छ । पत्रकार महासंघ बझाङ शाखाको आयोजना र खप्तडछान्ना गाउँपालिका बझाङको आर्थिक सहयोगमा पत्रकारिताको अभ्यास र चुनौती बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखिकरणमा पत्रकारिता क्षेत्रमा सुधार ल्याउन र पत्रकारहरुको दैनिकी कार्यमा हुँदै गरेका चुनौती सामाना गर्न के कस्ता कार्यलाई अगाडि बढाउने र पत्रकारका चुनौतीपूर्ण कार्यलाई समाधान गर्न कस्ता खालका काम गर्ने भन्ने बिषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै खप्तडछान्ना गाउपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले पत्रकारिता क्षेत्र भनेको एक विशुद्व पेशा भएकाले यो पेशाको सहि सदुपयोग गर्दै राज्यका हरेक कामकाजको सहि निगरानी गर्नुपर्ने बताए । उनले पत्रकार राज्यको चौथो अंग भएकाले पत्रकारले समाज र जनतालाई दिने सुचनामा विश्वासनियता र भर पर्दो हुनु पर्ने बताए ।
जयपृथ्वी नगरपालिका बझाङ्गका प्रमुख चेतराज बजालले देशका हरेक व्यवस्था बदल्न पत्रकारहरुको अहम भूमिका रहने र बिश्वका हरेक क्रान्तिको हुँदा पनि पत्रकारहरुले ठूलो भुमिका खेलेरै समाज विकास र रुपान्तरणका पक्षमा भुमिका निर्वाह गरेकाले राज्यको एक बिश्वास गर्न लायकको अंङ्ग नै पत्रकार भएको बताए ।
राज्यले सबै सूचना जनताको हितमा प्रकाशन र प्रसारण गर्ने भएकाले यदि कुनै पनि तहको सरकारले बदमासी गरि सुचना लुकाउने कार्य गरे सो सूचनालाई सार्वजनिक गर्ने क्षमता पनि पत्रकारले नै राख्नु पर्ने उनले बताए ।
पत्रकार समाजको ऐना भएकाले सहि कुराको सत्यतथ्थ जानकारी सहित समाचार सम्प्रेषण गर्नु पर्ने बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए ।
पत्रकार महासंघ बझाङ शाखाको आयोजना र खप्तडछान्ना गाउँपालिका बझाङको आर्थिक सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम पत्रकार महासंघ बझाङका अध्यक्ष शैलेन्द्र कुमार रोकायाको अध्यक्षता सम्पन्न भएको थियो ।