अत्तरिया – सुदूरपश्चिम प्रदेशकी सांसद गिता चौधरीले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा यथाशिघ्र सञ्चालनमा ल्याईनुपर्ने बताएकी छन । मंगलबारको प्रदेश सभा बैठकमा आफ्ना धारणा राख्दै सांसद चौधरीले संघिय सरकारले आफैले गरेको निर्णय बजेटमा नसमेटिनु दुःखद भएको बताईन ।

‘२०७९ माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो’ उनले भनिन् ‘तर सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा भने विश्वविद्यालय नभई प्रतिष्ठानका रुपमा अगाडी बढाईने भनिएको छ, यसले सम्पुर्ण सुदूरपश्चिमबासीमा नैराश्यता छाएको छ ।’ उनले विश्वविद्यालय सञ्चालनकै लडाईमा सुदूरपश्चिमबासी हाल आन्दोलनरत रहेको बताईन ।

उनले सडक देखी सदनसम्मको दवावका कारण जेठ २८ गतेको मन्त्रिपरिषद बैठकले विश्व विद्यालय बनाउने सैद्धान्तीक निर्णय गरेर जेठ २९ गते थप १ अर्ब १५ करोड बजेट छुट्याईएको बताईन । उनले विश्वविद्यालय यथाशिघ्र सञ्चालनको लागि सदनमा विद्येयक पेश गरेर बहुमतले पास गरिनुपर्ने बताईन ।
प्रदेश अन्र्तगतका अस्पतालहरुमध्येको रिफरल अस्पतालका रुपमा रहेको सेती प्रादेशीक अस्पतालमा मापदण्ड अनुसारका आवश्यक विशेषज्ञ डाक्टर र युनिटहरु नभएको उनले बताईन । उनले सेतीको व्यवस्थापनका लागि छुट्टै युनिटहरु विस्तार गरीनुपर्ने माग गरिन ।
कैलाली र कञ्चनपुरमा करिब १५ देखी २५ प्रतिशत सिकलसेलका विरामीहरु रहेका बताउदै उनले त्यस्ता विरामी तथा रगतसँग सम्बन्धीत विरामीहरुका लागि सेतीमा छुट्टै हेमाटोलोजी विस्तार गरिनुपर्ने बताईन । सेती र कञ्चनपुरको महाकाली अस्पतालमा यथाशिघ्र रुपमा सिटी स्क्यान र एमआरआई सेवा सञ्चालन गरिनुपर्ने उनको भनाई छ ।