अत्तरिया– गेटामा स्वास्थ्य विश्वविद्यालय स्थापनाका लागि दवाव दिन भोलि सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय अगाडी धर्ना दिइने भएको छ ।

शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले आन्दोलनको कार्यक्रम अन्तरगत भोलि (मंगलबार) बिहान साढे १० बजे प्रदेश प्रमुखको कार्यालय अगाडी धर्ना दिने भएको हो ।


प्रदेश प्रमुखको कार्यालय अगाडी कालोपट्टि बाधेर प्लेकार्ड सहित धर्ना दिने कार्यक्रम रहेको संघर्ष समितिका सचिव धर्म सिह कुँवरले बताए ।
संघर्ष समितिले गेटामा स्वास्थ्य विश्वविद्यालयको माग गर्दै सोमबार सुदूरपश्चिम प्रदेश सभा घेराउ गरेका थियो ।
प्रदेश सभा घेराउ गरिएपछि सोमबार दिउँसो ३ बजे तोकिएको प्रदेश सभा बैठक निर्धारित समयमा बैठक बस्न सकेको थिएन ।
बैठक ढिलागरी सुरु भएपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठक बहिस्कार गरेको थियो । एमाले सांसदहरूले बैठक बहिस्कार गरेपछि सभामुख भीमबहादुर भण्डारीले बैठक स्थगित गरेका थिए । गेटामा स्वास्थ्य विश्वविद्यालयका सवालमा अन्योल देखिएकाले तत्काल निर्णयको माग गर्दै बैठक बहिस्कार गरिएको एमालेले जनाएको छ ।
संघिय सरकारले आर्थीक बर्ष २०८०/८१ को बजेटमा गेटामा स्वास्थ्य प्रतिष्ठान संचालन गरेर १ सय बेडको अस्पताल संचालन गर्ने भनेपछि सुरु भएको आन्दोलन सुदूरपश्चिममा चर्किदै गएको छ ।
