अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कैलालीको गेटामा शहिद दरशथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना र विकास गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन ।

सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य विश्वविद्यालय स्थापानाका लागि नेपाल सरकार संग विशेष अनुरोध गर्दै आम सुदूरपश्चिमवासी नागरिकको माग, चाहना र आवश्यकता पुरा गर्न गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको उल्लेख गरिएको छ ।


मुख्यमन्त्रीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा गेटा मेडिकल कलेज सुदूरपश्चिम प्रदेश र सिंगो मुलुककै स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको केन्द्रको रुपमा विकास हुनुपर्छ भन्ने हामी सबैको चाहना भएको उल्लेख गरिएको छ ।
‘हाम्रा माग र चाहना बमोजिम नै नेपाल सरकारले गेटा मेडिकल कलेजमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने कानुनी प्रक्रिया अघि बढाएको पनि हामी सबैलाई स्मरण नै छ । यसै बीच नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा विश्वविद्यालय विधेयक चालु अधिवेसनमा नै प्रस्तु गर्ने भनी उल्लेख भएकोमा वार्षिक बजेटमा भने स्वास्थ्य विज्ञान प्रतिष्ठान उल्लेख भई अस्पष्टता सिर्जना हुन पुगेको प्रति सुदूरपश्चिम प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको छ’ प्रेस विज्ञप्तीमा भनिएको छ ‘यस विषयमा हामीले नेपाल सरकारका जिम्मेवार राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग निरन्तर सम्वाद र सम्पर्क गरिरहेका छौं । सम्वादको क्रममा उहाँहरुबाट उक्त अस्पष्टता हटाई गेटा मेडिकल कलेजलाई सुदूरपश्चि प्रदेशका आम नागरिकको चाहना र नेपाल सरकारको पूर्व निर्णय बमोजिम सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने गरी आवश्यक कानूनी र अन्य व्यवस्था मिलाइने विश्वास दिलाउनु भएको छ ।’
