अत्तरिया – शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज (आइतबार) सुदूरपश्चिम प्रदेशभरी आम हड्तालको घोषणा गरेको छ । संघर्ष समितिले गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दवाव दिने आम हड्तालको घोषणा गरेको हो ।

आम हड्तालको समयमा सुदूरपश्चिमका ९ वटै जिल्ला, ८८ वटै पालिकामा रहेका सम्पूर्ण कार्यालयहरु, यातायात, उद्योग–कलकारखाना, व्यापार–व्यवसाय, निजी तथा सरकारी विद्यालयहरु लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिने जनाइएको छ ।

२०७९ साल माघ २९ को मन्त्रिपरिषद्को निर्णय र २०८० जेठ ५ गतेका दिन संघीय ससदमा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भन्ने कुरा उल्लेख भएपनि जेठ १५ गते संसदमा पेश गरिएको बजेटमा गेटामा स्वास्थ्य प्रतिष्ठान बनाउने उल्लेख गरिएपछि संघर्ष समितिले आन्दोनका कार्यक्रम गर्दै आइरहेको छ । संघर्ष समितिले बजेटमा १ सय शैय्याको मात्रै अस्पताल संचालन गर्ने कुराको पनि विरोध गर्दै गेटामा भवनको क्षमता अनुसार ६ सय शैय्याको अस्पताल संचालन गरिनुपर्ने माग गर्दै आइरहेको छ ।

आम हड्तालको कार्यक्रममा सुदूरपश्चिम क्षेत्रका यातायात व्यवसायी, उद्योगी, व्यापारी, वुद्धिजिवी, नागरिक समाज, सम्पूण राजनीतिक दलहरु र आम जनसमुदायको समेत ऐक्ववद्धता तथा समर्थन रहेको जनाइएको छ ।

यसैबीच शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालनार्थ सघर्ष समितिले सुदूरपश्चिम प्रदेशमा आजका लागि आह्वान गरेको आम हड्तालमा यातायात व्यवसायीले ऐक्ववद्धता जनाएका छन् । संघर्ष समितिले गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दवाव दिन आयोजना गरेको आम हड्तालमा सयुक्त यातायात व्यवस्थापन मुलसमिति कैलालीले एक्ववद्धजना जनाएको हो । समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै आमहडताल कार्यक्रमलाई कैलाली जिल्लामा रहेको सम्पुर्ण यातायात प्रालिको निर्णय अनुसार उक्त आमहडताललाई पूर्ण समर्थन गर्दै ऐक्यवद्धता जनाएको उल्लेख छ ।
‘गेटामा स्वास्थ्य विज्ञान विश्व विद्यालय संचालन गर्न माग गर्दै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले थालेको आन्दोलनका कार्यक्रम अनुरुप यही २०८० जेष्ठ २८ गते आव्हान गरेको सुदुर पश्चिम प्रदेशमा आमहडताल कार्यक्रमलाई कैलाली जिल्लामा रहेको सम्पुर्ण यातायात प्रालिको निर्णय अनुसार उक्त आमहडताललाई पूर्ण समर्थन गर्दै ऐक्यवद्धता जनाउदछौं’ समितिका संयोजक पदम राज सापकोटाद्धारा जारी विज्ञप्तीमा भनीएको छ ‘उक्त आमहडताल कार्यक्रमलाई पूर्णरुपले सफल पार्न सम्पुर्ण व्यवसायी तथा मजदुरहरुलाई आ–आफ्ना सवारी साधन संचालन नगरी शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापनाको महान अभियानमा आ–आफ्नो तर्फ बाट सहयोग गरि दिन हुन हार्दिक आब्हान गर्दछौं ।’
आम हड्तालमा गौरीगंगा उद्योग वाणिज्य संघले पनि ऐक्यवद्धता जनाएको छ । संघका अध्यक्ष खेमानन्द पौडेल महासचिव डिल्लीराम आचार्यद्धारा जारी प्रेस विज्ञप्तीमा जेष्ठ २८ गते संघर्स समितीले सुदूरपश्चिम प्रदेशमा आम हड्तालको घोषणा गरेकोमा उक्त कार्यक्रममा सुदूरपश्चिम क्षेत्रका यातायात व्यवसायी, उद्योगी, व्यापारी, बुद्धिजिवी, पत्रकार, नागरिक समाज, सम्पूर्ण राजनीतिक दलहरुको र आम जनसमुदायको समेत ऐक्यवद्धता तथा समर्थन रहेको मा यस उद्योग वाणीज्य सघको ऐक्यवद्धता रहेको उल्लेख गरिएको छ ।
यसैबीच गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ भइरहेका विरोधका कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि ऐक्यवद्धता जनाएको छ । नेकपा सेती व्यूरो कार्यालयका इन्चार्ज भगतसिह सी द्धारा जारी विज्ञप्तीमा विश्वविद्यालय संचालनको मुद्धालाई लिएर जुनसुकै रुपमा गरिने आन्दोलनप्रति पार्टीको पुर्ण समर्थन र सहभागिता रहने उल्लेख गरिएको छ ।
‘केही माफिया र राजनैतिक दलका केही नेताहरुको निहित स्वार्थका कारण उक्त संरचना लावारिस अवस्थामा रहने हो कि भन्ने चिन्ता र आशङ्का बढ्दै गइरहेको छ । यदि यसो हुन पुगेमा यस क्षेत्रका नागरिकहरुप्रति ठुलो बेइमानी हुनेछ’ ज्ञापन पत्रमा भनीएको छ ‘२०७९ माघ २९ गते नेपाल सरकारले शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय र २०८० जेठ ५ गते संघिय संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा विश्वविद्यालय निर्माण गर्ने घोषणा, विश्वविद्यालय सम्बन्धी विधेयक संसदको यसै अधिवेशनमा पारित गर्ने र अस्पताल संचालनमा ल्याउने निर्णय अविलम्ब अक्षरशः कार्यान्वय गरियोस ।’