बझाङ – बझाङको सुर्मा गाउँपालिकाका विभिन्न वन क्षेत्रमा यार्सागुम्बा संकलन गर्न निषेध गरीएको छ । वन तथा वातावरण नासिने तरिकाले बाह्र्य क्षेत्रका नागरिकहरु पुर्जा नकाटेर मधुखरक, सुनखानी, बुढाबिनायक, सुन्तली लगाएतका वन क्षेत्रमा यार्सागुम्बा संकलन गर्ने गरेको भन्दै मधुखरक युवा समितिले यार्सागुम्बा संकलनमा प्रतिबन्ध लगाएको हो ।
उक्त क्षेत्रमा यहि जेठ २१ गते देखि असार ५ गतेसम्मका यार्सागुम्बा संकलन कार्य निषेध गरेको मधुखरक युवा समितिका अध्यक्ष एरिन्द्र बोहराले जानकारी दिए । यहि जेठ २१ गते देखि असार ५ गतेसम्म निषेधित क्षेत्रभित्र कसैले यार्सागुम्बा टिपेको भेटाएमा समितिले ४० हजार जरिवाना सहित कारबाही गरिने जनाएको छ ।


समयमै जडिबुटी र यार्चागुम्बा रहेका वन क्षेत्रको संरक्षणमा नजुटे लोप हुँदै जाने स्थानीय कबिन्द्र बोहराले बताए । जडीबुटी संकलन गर्न हरेक वर्ष सुर्मा गाउँपालिका भित्रका अधिकाश ब्यक्तीहरु सुनखानी, मधुखरक, बुढाबिनायक क्षेत्रमा मात्र जाने भएकाले केही समयका लागि रोक लगाएको वन हेराला देबचन्द्र बोहराले बताए ।
सुर्माका जनताको जीवनस्तर संग जोडिएको यार्सागुम्बा आम्दानीको बाटो मात्र नभएर ज्यान बर्बाद पार्ने काल समेत बन्दै गएको छ । यार्सागुम्बा संकलनका लागि वर्षेनी हजारौं सर्वसाधारण पाटन तर्फ पुग्ने गरेका छन् । कोहि यार्सागुम्बा लिएर फर्किन्छन भने कोहि उतै अस्ताउने गरेका छन् । प्रत्येक वर्ष हिमपहिरो र चिसोका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।
यार्सागुम्बा भिरको फुल जस्तै भएकाले धेरैले राम्रो आम्दानी गरेपनि कतिपयले भने उल्टो नोक्सानी ब्यहोर्नुपरेको छ । गत महिना मात्रै बझाङको सुर्मा गाउँपालिकामा यार्सागुम्बा संकलनको लागि गएका ६ जनाले ज्यान गुमाएका थिए ।

















