अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा दादुरा–रुबेला रोगको न्यूनिकरणका लागि एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाईटीसँगको साझेदारीमा नगरपालिकाको स्वास्थ्य शाखाले कार्यक्रमको आयोजना गरेको हो ।

नगरप्रमुख हेमराज ओझाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरपालिकाको कार्यपालिकाका खोप समन्वय समितिका पदाधिकारी, कार्यपालिका सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरु, स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

दक्षिणपुर्वि एसियामा २०२६ सम्म दादुरा न्युनिकरण गर्ने लक्ष्य रहेकाले सो का लागि अभियान नै सञ्चालन गरेर कार्यक्रमहरु सञ्चालन गरिरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाकी उपप्रमुख द्रोपति रानाले दादुरा महामारी रोग भएकाले यसको निराकरणका लागि सबैले सचेत बन्न आवश्यक रहेको बताईन । उनले एउटै नगरपालिकाले मात्रै रोग न्युनिकरण गर्न नसक्ने भएकाले दादुराको अन्त्यका लागि सबै तह र तप्काबाट लाग्न जरुरी रहेको बताईन ।
नियमित खोप अभियान सञ्चालन हुँदा पनि सन २०२३ सम्म न्युनिकरण गरिसक्ने लक्ष्य राखिएको दादुरा रोग अझै देखा परिरहेको छ । रोग अझै पनि देखा परिरहेकाले सन २०२६ सम्ममा न्युनिकरण गरिसक्ने गरी अभियान सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतन सिँह बिष्टले बताए । उनले दादुराले बालबालिकाको ज्यानै जान सक्ने भएकाले यसको रोकथामका लागि सर्तकता अपनाउन जरुरी रहेको बताए ।
कार्यक्रमका सहभागीहरुलाई स्वास्थ्य शाखा प्रमुख विष्टले दादुराको परिचय, दादुरा न्युनिकरणको लक्ष्य, चुनौती र अभियान सञ्चालनको उद्देश्यका बारेमा प्रशिक्षण दिएका थिए । सुदूरपश्चिमका ३ स्थानीय तहमा यो खोप अभियान सञ्चालन भइरहेको छ । कृष्णपुरमा पनि उक्त अभियान ३ दिन सम्म सञ्चालन हुने बताईएको छ ।

मातृ तथा पेरिनेटल मृत्यु निगरानीका लागि समिति बनाईने
यसैबिच सोही कार्यक्रममा मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्यका लागि पालिकामा समिति बनाईने बताईएको छ । उक्त समितिले मातृ मृत्युका संभावित चिकित्सकिय तथा अन्य कारणहरु पत्ता लगाई उक्त कारणहरुको निराकरण बारे लेखाजोखा गर्ने कार्य गर्नुपर्ने बताईएको छ ।
त्यसका साथै भविष्यमा मातृ मृत्यु हुन नदिनका लागि आवश्यक सुझावहरु पहिचान गरी समुदायमै कार्यान्वयन गर्न सकिने सुझावहरु लागु गराउने कार्य गर्नेछ ।
उक्त समिति वडा, नगर, प्रदेश, जिल्ला, अस्पताल तथा संघ तहमा पनि गठन गरिएका छन । उक्त समितिका लागि निश्चित मापदण्डहरु तोकिएको छ । पालिका स्तरका लागि समितिको अध्यक्षमा पालिका उपाध्यक्ष तथा उपप्रमुख रहने व्यवस्था रहेको छ । सदस्यहरुका लागि पालिकाका प्रमुख प्रसाशकिय अधिकृत, पालिका कार्यालय सम्बन्धीत वडाको अध्यक्ष, पालिकाका महिला तथा बालबालिका शाखा प्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख/स्वास्थ्य संयोजक र चिकित्सक रहने व्यवस्था रहेको छ ।
त्यसका साथै पब्लिक हेल्थ नर्स वा स्थानिय तहमा कार्यरत नर्सिङ स्टाफ समितिको सदस्य सचिव रहने व्यवस्था रहेको छ । त्यतिमात्रै नभई आमन्त्रीत सदस्यमा मातृ मृत्यु भएको स्वास्थ्य संस्थाको प्रतिनिधि र RH मा कार्य गर्ने संस्थाको प्रतिनिधि सदस्य रहने व्यवस्था रहेको बताईएको छ । मातृ तथा पेरिनेटल मृत्यु नियन्त्रणका लागि समितिले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताईएको छ ।
