धनगढी – सुदूरपश्चिमका सबै जिल्लामा दादुरा रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ ।

यो वर्ष कैलालीसहित प्रदेशका अन्य जिल्लामा दादुराको प्रकोप देखिएकाले खोप अभियान सञ्चालन हुने भएको हो । स्वास्थ कार्यालय कैलालीको आयोजनामा जिल्लाभर खोप अभियान चलाउन गोष्ठी आयोजना गरिएको छ । जिल्लाका सबै पालिकाका स्वास्थ्य प्रमुखसहित सरोकारवालाहरूको उपस्थितिमा अभियान चलाउने विषयमा योजना तर्जुमा गोष्ठी आयोजना भएको हो ।


कार्यक्रममा स्वास्थ कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले कैलालीमा पनि दादुराको प्रकोप देखिएकाले खोप अभियान चलाउन अभिमुखीकरण गोष्ठी गरिएको बताए । सुदूरपश्चिममा ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउने योजना छ ।
धामीले ९५ प्रतिशतभन्दा बढी कभरेज गर्ने हिसाबले खोप अभियान चलाउने तयारी गर्न गोष्ठी आयोजना गरिएको बताए । गोष्ठीमा खोपबाट बचाउन सकिने रोगहरूको सर्भिलेन्स, निगरानी तथा महामारी नियन्त्रणको प्रक्रिया र तहगत भूमिकाबारे जानकारी एवं छलफल गरिने छ ।
दादुरा र रुबेलाको खोप नियमित खोप कार्यक्रमबाट भारत गएका परिवारका बालबालिका बञ्चित हुने गरेको बताइएको छ ।
