धनगढी – सुदुपश्चिमको प्रमुख धार्मिक पर्यटकिय क्षेत्र खप्तडमा लाग्ने अन्र्तराष्ट्रिय आध्यात्मिक सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल र योगगुुरु बाबा रामदेव आउने भएका छन ।


खप्तड क्षेत्रमा पहिलो पटक आयोजना हुन गैरहेको सम्मेलनमा आन्तरिक तथा बाह्य पर्यटकलाई बढावा दिन दुवै हस्तीहरुको आवागमन हुन लागेको हो । खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनमा यही जेठ २३, २४ र २५ गते सम्मेलन आयोजना गर्न लागिएको छ । सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेवसँगै बालकृष्ण आचार्यको पनि सहभागिता रहने बताईएको छ ।

खप्तड क्षेत्रमा खप्तडबाबाले पाँच दशकसम्म साधना गरेका थिए । सो क्षेत्रमा खप्तडबाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन् । खप्तड राष्ट्रिय निकुञ्जसमेत रहेको सो क्षेत्र झण्डै २२५ वर्ग किलोमिटरमा फैलिएको छ ।
खप्तडमा अहिलेसम्म सडक मार्ग भने पुग्न सकेको छैन । डोटीको झिग्रानासम्म यातायातको व्यवस्था भए पनि त्यहाँबाट एक दिनको पैदल यात्रपछि मात्र खप्तड पुगिन्छ ।
