खाेज्नुहाेस

जडिबुटी संकलन केन्द्रलाई अमेरिकी सेनाको बेसक्याम्प भनियो : साइपाल गाउँपालिका

Image

बझाङको साईपाल गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने माझा क्षेत्रमा अमेरिकी सेनाको बेसक्याम्प स्थापना नभएको गाउँपालिकाले प्रष्ट पारेको छ । अध्यक्ष मानवीर बोहराले सो क्षेत्रमा अमेरिकी सेनाको बेसक्याम्प स्थापना भएको भन्ने आधारहीन समाचार र अभिव्यक्तिको खण्डन गर्दै बताएका हुन् ।

माझा क्षेत्रमा अमेरिकी सेनाको बेसक्याम्प स्थापना भएको समाचार तथा अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पालिकाबाट नियमित अनुगमन भइरहेकाले सो क्षेत्रमा त्यस्तो कुनै पनि गतिविधि नभएको उनले बताए ।

attariya hospital
navjiwan hospital

‘साईपाल गाउँपालिका वडा नम्बर १ र २ को क्षेत्रभित्र रहेको माझा क्षेत्र साईपाल गाउँपालिकाको जडीबुटी संकलन क्षेत्र रहेको र नियमित रुपमा स्थानीय बासिन्दाको आवतजावत भइरहने साथै गाउँपालिकाबाट समेत उक्त क्षेत्रमा नियमित अनुगमन भइरहेको हुँदा सो क्षेत्रमा सञ्चारमाध्यममा उल्लेख भएबमोजिम कुनै पनि गतिविधि नभएको व्यहोरा समेत अवगत गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष बोहराले सार्वभौम राष्ट्रको समग्र भूगोलको रक्षा गर्नु सरकारको कर्तव्य रहेको उल्लेख गरेका छन् । मुलुकको भौगोलिक क्षेत्रको सुरक्षाका विषयमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आआफ्नो तहबाट अहम् भूमिका निर्वाह गर्दै आएको पनि जनाएका छन् ।

समग्र राष्ट्रको राष्ट्रियतामाथि प्रश्न उठ्ने गरी तथ्य र प्रमाणबिना यस्ता अभिव्यक्ति, समाचार प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्दै गाउँपालिकाले संवेदनशील विषयमा भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी नगर्न र अटेर गरेमा कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ ।