धनगढी – लोपको सङ्घारमा पुगेको कठ्घोरी नाच संरक्षणमा के गाउँवासी जुरमुराएका छन् । संस्कृतिलाई पुस्तान्तरण गर्ने उद्देश्यका साथ कैलालीको कैलारी गाउँपालिका–४ के गाउँका स्थानीय जुरमुराएका हुन । कठ्घोरी नाच थारु समुदायको निकै पुरानो मौलिक नाच हो । घोडा बनेर यो नाच नाच्ने गरिन्छ । महिला पुरुषले यो नृत्य देखाउने गर्दछन् ।


पुर्खाहरूले गाउँघरमा धूमधामसँग देखाएको नाच लोप हुने अवस्थामा पुगेपछि त्यसको संरक्षण गर्ने उद्देश्यका साथ कठ्घोरी नाच देखाउन थालेको के गाउँका भलमन्सासमेत रहेका नाचका संयोजक जगलाल चौधरीले बताए । ‘थारु संस्कृति जगेर्नाका लागि हामी गाउँमा एकजुट भएका छौँ’ उनले भने । धेरै समयको प्रयासपछि आफ्नो गाउँवासीलाई यो नाचमा संलग्न गराएको चौधरीको भनाइ थियो ।

अचेलका युवा पुस्ता आधुनिकतातिर आकर्षित भएका छन् । उनीहरू आधुनिक गीत, नृत्यतिर ध्यान दिँदा आफ्नो समुदायको मौलिक संस्कृतिहरू लोप भइरहेका स्थानीयको भनाइ छ । समुदायको पुरानो संस्कृति जगेर्नाका लागि युवा पुस्ता अग्रसर हुन आवश्यक रहेको स्थानीय सुनिता चौधरीले बताईन । उनले गाउँमा पुर्खाहरूको पहलमा भइरहेको कठ्घोरी नाच प्रदर्शनले संस्कृति संरक्षणमा युवा पुस्तालाई जागरूक बनाउने विश्वास व्यक्त गरिन ।
संस्कृतिले नै पहिचान झल्काउने गरेकाले यसको संरक्षण गर्न आवश्यक रहेको औँल्याइएको छ । कैलारी गाउँपालिका–४ का वडा अध्यक्ष ठागुराम चौधरीले पुरानो संस्कृतिको संरक्षण गर्न जरुरी रहेको बताए । उनले के गाउँवासी थारु समुदायले आफ्नो समुदायका युवापुस्तालाई कठ्घोरी नृत्य सिक्ने अवसर प्रदान गर्नु ठुलो कुरा रहेको उल्लेख गरे । ‘यो कार्यमा स्थानीय सरकार पनि सहयोग गर्न तत्पर छ’ उनले भने ‘लोप हुन थालेको संस्कृति संरक्षण गर्नु हामी सबैको दायित्व हो ।’ गोरखापत्रबाट
