बैतडीमा ‘लम्पि स्किन’ को प्रकोप व्यापक

बैतडी – बैतडीमा पशुहरूमा लम्पि स्किन रोगको प्रकोप व्यापक रुपमा देखिएको छ । किसानहरूले पालेका अधिकांश गाई र भैँसीमा उक्त रोगको प्रकोप देखिएको हो । बैतडी जिल्लाभर ३ हजार बढी पशुमा लम्पि स्किनको समस्या देखिएको छ भने ३ सय बढी पशुहरू मरिसकेको पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीले जनाएको छ ।

maya metro hospital

पशुहरूमा उक्त रोगको प्रकोप देखिएसँगै दशरथचन्द नगरपालिकाले किसानको घरमै पुगेर उपचार गर्ने अभियान सञ्चालन गरेको छ । भाइरसबाट लाग्ने उक्त रोगको उपचार नभएपनि रोकथामको औषधी वितरण गरिरहेको नगरपालिकाका पशुसेवा शाखा प्रमुख ईश्वरी दत्त भट्टले बताए ।

लम्पि स्क्रिन रोगको प्रभाव रहेसम्मका लागि ४ जना थप जनशक्ति भोलेन्टरको रुपमा खटाएको उनले बताए । भट्टले भने ‘यो रोगको प्रकोप तीव्र रुपमा फैलिएको छ । म आफै वडा न. ५, ६ र ८ मा खटिएको छु । अन्य वडाहरूमा पशु प्राविधिकहरू खटाएका छौँ । २ महिनाका लागि भोलेण्टरको रुपमा ४ जना थप प्राविधिक खटाइएको छ ।’

attariya hospital

यस रोगको नेपालमा खोप नभएको हुँदा लक्षणहरूको उपचार र अन्य रोगको संक्रमण हुन नदिने आधारमा औषधी दिइरहेको भट्टले बताए । लम्पि स्किन रोगको रोकथामका लागि औषधीहरू मगाइएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजेन्द्र विष्टले बताए ।

लम्पि स्किन रोगको प्रकोप देखिएका पशुहरूमा सरीरभरी दाग र गाठाँहरु आउने, बढी ¥याल काढ्ने, शरीरका अङ्गहरू सुन्निने, सुत्न नसक्ने, खाना नखाने तथा दूध घटाउने लगायतका समस्या देखिएको छ । बिरामी पशुहरूमध्ये बुढो उमेरका पशुहरू मर्न थालेको किसानहरूले बताएका छन् ।

बैतडी जिल्लाभर र दार्चुलामा समेत यो समस्या देखिएको पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका डाक्टर विशाल पाठकले बताए । उनले भने ‘नेपालमा यसको खोप विकास भएको छैन । तरपनि बढी जोखिम हुन नदिनका लागि उपचार गरिरहेका छौँ । बिरामी पशु मध्ये ५देखी १०प्रतिशत सम्म मरिरहेको देखिन्छ । पशुहरूमा यसको सङ्क्रमण बढ्दैछ । केही समयपछि रोकिएला ।’

लम्पि स्क्रिनको संक्रमण देखिएका पशुहरूलाई पोषणयुक्त खानेकुरा खानदिने गोठको सरसफाईमा ध्यान दिने, झिँगा भुसुना र लामखुट्टेको व्यवस्थापन गर्ने, सङ्क्रमित पशुलाई छुट्टै राख्ने लगायतका कुरामा ध्यान दिनुपर्ने उनले बताए । प्राविधिकको सल्लाह अनुसार हेरचाह गरी खानपिनमा ध्यान दिएमा एक दुई हप्तामै संक्रमण बाट मुक्त हुने उनले बताए । (रेडियो नेपालबाट)

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.