अत्तरिया – सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा लम्पी स्किनको संक्रमण भयावह बन्दै गइरहेको बेला कैलालीको गोदावरीमा पनि यसको संक्रमण फैलिन थालेको छ । गाईभैँसीमा देखा पर्ने यो रोग गोदावरीको पहाडी क्षेत्रमा देखिन थालेको हो ।
लम्पी स्किन गोदावरीको वडा नम्बर ४ र १२ को पहाडी क्षेत्रमा देखा पर्न थालेको नगरपालिकाको पशु शाखाले जनाएको छ । यस बर्ष मात्रै गोदावरीमा करिब १० वटा पशुमा यो रोग देखा परिसकेको नगरपालिकाको पशु शाखाका नायव पशु सेवा प्राविधिक टेक शाहुले बताए । उनले गोदावरीको पटैनी, हाटखोली, सिम क्षेत्रमा यो संक्रमण देखिएको बताए ।
यो रोगको उपचार नभएकाले संक्रमण देखिएको क्षेत्रमा घाउँ खटिरामा इन्फिेक्सन नहोस भनेर मलमहरु, एन्टिभाइटिक, पेन किलर वितरण गरिएको पशु शाखाले जनाएको छ ।
गोदावरीमा लम्पी स्किन गत बर्ष पनि पशुहरुमा देखा परेको थियो । गत बर्ष ७०/८० वटा पशुहरुमा यसको संक्रमण देखिएको नगरका पशु प्राविधिक शाहुले बताए । उनले गत बर्ष पनि रोगको संक्रमण देखिएपछि धेरै ठाउँमा सचेतनाका कार्यक्रम संचालन गरिएकाले अहिले धेरै जसो किसान यस रोगको बारेमा जानकार रहेको बताए । उनले हाल पहाडी जिल्लाहरुको जस्तो व्यापक रुपमा यो रोग नफैलिएको भएपनि गोदावरीमा पनि संक्रमण फैलिने जोखिम भने उच्च रहेको बताए ।
यो रोगको मृत्युदर धेरै नभएपनि रोग लागेपछि शरिरमा फोका देखिने र, पछि घाउँ फुटेर भिङ्गा बस्ने समस्या हुने गर्छ । घाउँ दुखाइका कारण पशुमा जरो आउने र पछि थला पर्ने गर्छन ।
गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखा पर्ने पशु चिकित्सकहरु बताउन्छन ।
यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिङ्गा लगायतको टोकाइबाट लाग्छ । यो रोग ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण हुन्छ । संक्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने पशु चिकित्सकहरु बताउन्छन । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकता अनुसार कीट विकर्षकको प्रयोग गर्नु पर्छ ।
यो रोगको लाग्न नदिनका लागि भ्याक्सिन भएपनि यो सर्वसुलभ नभएकाले पशु चिकित्सकहरु बताउन्छन । यो रोग लागेपछि भने यसको उपचार गर्ने औषधी छैन । यो रोग लागिसकेपछि अरु पशुहरुमा फैलिन नदिन कम्तीमा २१ दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ ।
लम्पी स्किन रोग विशेषगरी गाईहरूमा र कहिलेकाहीँ भैसीहरूमा समेत देखिने पक्स भाइरस (विषाणु) समूहको लम्पी स्किन भाइरसले लाग्ने गरेको छ ।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा फैलिएको यो रोगका कारण हालसम्म १ हजार गाईभैँसी मरिसकेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
विगतमा अफ्रिकी महादेशमा मात्रै सीमित यो रोग सन् २०१२ पश्चात् मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान लगायत बालकन्स क्षेत्र हुँदै सन् २०१९ जुलाइमा बंगलादेश र चीन तथा सन् २०१९ को अन्ततिर भारतमा समेत देखापरेको थियो । लम्पी भाइरल रोग नेपालमा विस २०७७ सालमा मोरङबाट फैलिएको हो ।