अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा करिब साढे ७ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाईने भएको छ । नगरपालिकाले ७ हजार ३ सय ७७ बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन लागेको हो ।
६ महिनादेखी ५ वर्षसम्मका उक्त बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाईने नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी विर बहादुर कुँवरले बताए । उनले भिटामिन ‘ए’ का साथै बालबालिकाहरुलाई जुकाको औषधी पनि खुवाईने बताए । उनले जुकाको औषधी भने १२ महिनादेखी ५ वर्षमुनिका ६ हजार ५ सय ६० बालबालिकाहरुलाई खुवाईने बताए ।

उनका अनुसार देशव्यापी कार्यक्रम भएकाले नगरमा सरकारले तोकेको समयमै विभिन्न स्थानबाट औषधीहरु खुवाउने कार्यक्रम रहेको छ । सरकारले यही वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन लागेको छ । सोही समयमा नगरका सबै वडाका विभिन्न स्वास्थ्य केन्द्र एवम् स्थानहरुबाट औषधी खुवाउने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए ।
उनका अनुसार नगरपालिकामा रहेका महिला स्वास्थ्यस्वयमसेविकाहरुले आ–आफ्नो टोलहरुमा रहेका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने छन । नगरपालिकामा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने कार्यक्रमका लागी १ सय ५ जना स्वयमसेविकाहरु परिचालन गरिने उनले बताए । त्यसका साथै उनले नगरमा रहेका १६ वटा स्वास्थ्य संस्थाहरुले भने कार्यक्रमको सञ्चालन, व्यवस्थापन र अनुगमनको कार्य गर्ने बताए । उनले नगरपालिकाले प्रत्येक वर्ष नियमित रुपमा उक्त औषधीहरु खुवाउदै आएको बताए ।
भिटामिन ‘ए’ को कमी हुनसक्ने जोखिममा खासगरि ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरु रहेकाले उनिहरुलाई नियमित रुपमा भिटामिन ‘ए’ को क्याप्सुल अनिवार्य खुवाउनुपर्ने जरुरी रहेको स्वास्थ्य शाखाका कर्मचारी कुँवरले बताए । उनका अनुसार बालबालिकामा मुख्यगरी कुपोषणको समस्या हुने र सो समस्या पेटमा पर्ने जुकाका कारण पनि हुने भएकाले भिटामिन ‘ए’ सँगै बालबालिकाहरुलाई जुकाको औषधी पनि खुवाउन लागिएको हो ।

किन आवश्यक छ भिटामिन ‘ए’
भिटामिन ‘ए’ हाम्रो शरीर स्वस्थ राख्नका लागि नभइ नहुने पौष्टिक तत्वहरू मध्येको एउटा सूक्ष्मपोषक तत्व हो । खास गरी आँखा स्वस्थ राख्न र रोगप्रतिरोधी क्षमताको मजबुतीका लागि यो अत्यावश्यक हुन्छ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाई व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतालाई अभिवृद्धि गराउछ ।
भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकास र गर्भवती महिलाको स्वास्थ्यलाई असर गर्दछ । यसको कमीले रतन्धो रोग लाग्छ । त्यस्तै बालबालिकामा कुपोषण, रोग प्रतिरोधात्मक क्षमतामा कमी, दीर्घरोगहरू देखा पर्ने गर्दछन ।
त्यसैले भिटामिन ‘ए’ को आवश्यक मात्रामा खानाबाट उपभोग गरेमा वा अपुग भएको अवस्थामा भिटामिन ‘ए’ क्याप्सुल खुवाउदा बाल मृत्युदर कम गराउन ठुलो योगदान पुग्ने स्वास्थ्यकर्मिहरुले बताएका छन । भिटामिन ‘ए’ ले खासगरि हाम्रो शरीरमा आँखा स्वस्थ राख्न मद्दत गर्दछ भने शरीरलाई संक्रमणबाट जोगाउँछ र चांडै मृत्यु हुनबाट बचाउछ ।
स्वस्थ छाला र तन्तुको विकास गर्न र रातो रक्तकोष बनाउने कामका साथै बालबालिकाको समग्र वृद्धि र विकास गर्न भिटामिन ‘ए’ नभइ हुदैन । भिटामिन ‘ए’ ले बालबालिकालाई रतन्धो रोगबाट जोगाउनुका साथै आँखा तेजिलो बनाउन मद्दत गर्दछ भने छाला, श्वासप्रश्वास एवम् प्रजनन स्वास्थ्य सम्बन्धी रोगसमेत लाग्न दिँदैन ।
नेपालमा विस २०५० देखि भिटामिन ए क्याप्सुल वितरण गर्ने कार्यक्रम सञ्चालनमा रहेको छ । बैशाख र कार्तिकमा गरि बर्षको दुई पटक ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र १२ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने कार्य सरकारले निरन्तर गरिरहेको छ ।

















