अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. २ की लक्ष्मी भट्टराईको शव तिन दिन पछि उठेको छ । नगरपालिकाको वडा नं. ३ मा रहेको मालाखेती अस्पतालमा सोमबार मृत्यु भएकी २८ वर्षिया लक्ष्मीको शव तिन दिन पछि उठेको हो ।
तेस्रो दिन बुधबार अस्पताल प्रशासन, नगरप्रमुख, वडा नं. १ र ३ का वडाध्यक्ष, प्रहरी, र पिडित पक्षबिचको छलफलमा सहमती जुटेपछि शव उठाईएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक डिएसपि गणेश बरालले जानकारी दिए । उनले मृतकका परिवारलाई कानुन बमोजिम क्षतिपुर्ति दिने कुरामा सहमती जुटेको बताए । उक्त सहमती पश्चात शव पोष्टमार्टमका लागी धनगढीस्थित सेती प्रादेशीक अस्पताल पठाईएको छ ।


पिडित पक्षले छानविन समिति गठन गरेर निष्पक्ष छानविन गरिनुपर्ने, मृतकको जेठो छोराको लालनपालन तथा पठनपाठन गराईनुपर्ने, दोषिलाई कारबाहीको दायरामा ल्याईनुपर्ने तथा उचित क्षतिपुर्ति दिनुपर्ने माग राख्दै आएका थिए । पिडित पक्षको मागअनुसार मृतकका छोरालाई कक्षा १२ सम्म आवाशिय रुपमा अध्यापन गराउने र पिडित पक्षलाई राहत स्वरुप क्षतिपुर्ति दिने सहमती भएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।
मृतकका छोरालाई कक्षा १२ सम्म नगरभित्र भएको आवाशिय विद्यालयमा पठनपाठन गराउने जिम्मा नगरपालिकाले लिने र मृतकका परिवारलाई सान्त्वना स्वरुप ५ लाख रुपैया दिने सहमती भएको नगरप्रमुखका स्वकिय सचिव दिपिन कुमार साउँदले जानकारी दिए । उनले सो सहमती पश्चात शवलाई पोष्टमार्टमका लागी धनगढी पठार्र्ईएको बताए ।
उनका अनुसार मृतकका ६ वर्षिय छोरा आयुष भट्टराईलाई आवाशिय शिक्षा दिक्षाको व्यवस्था अस्पतालले गर्नेछ भने नगरपालिकाले राहत स्वरुप मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।
सुत्केरी समय कटीसकेपछि चेकजाँचका लागी आईतबार अस्पताल पुगेकी मृतक भट्टराईलाई त्यही दिन व्यथा लाग्ने औषधी लगाएर अस्पतालमै राखिएको थियो । सोमबार मृत बच्चा निकालिएको आफन्तले बताएका छन । मृत बच्चा निकालिएको केही समयपछि लक्ष्मीको पनि मृत्यु भएको थियो । शिशु र आमाको मृत्यु भएपछि मृतकका आफन्तहरु आन्दोलित भएका थिए । उनिहरुले क्षतिपुर्तिको माग गर्दै आएका थिए । क्षतिपुर्ति र दोषीलाई कारबाही नहुन्जेल सम्म आफन्तहरुले शव उठाउन दिएका थिएनन् । तर अब सहमती भैसकेपछि शव पोष्टमार्टमका लागी पठाईएको हो ।

















