खाेज्नुहाेस

गोदावरीको पुँजिगत खर्च १७ प्रतिशत मात्र

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले पुँजिगत तर्फको १७ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्म कुल पुँजिगत बजेट ५३ करोड ९४ लाख ८७ हजार रुपैयामध्ये नगरपालिकाले ९ करोड ४५ लाख ५७ हजार २ सय ९१ अर्थात १७.५३ प्रतिशत मात्रै खर्च गर्न सकेको हो । आर्थिक वर्षको ९ महिना वितिसक्दा पनि नगरपालिकाले कुल पुँजिगत बजेटको एक चौथाई बजेट पनि खर्च गर्न सकेको छैन ।

नगरपालिकाको कुल बजेट १ अर्ब २८ करोड ८ लाख ३२ हजार रुपैयामध्ये चालु तर्फ ७४ करोड ५३ लाख ४५ हजार रुपैया र पुँजिगत तर्फ ५३ करोड ५४ लाख ८७ हजार रुपैया छुट्याईएको थियो । नगरपालिकाले चालु तर्फ आधा भन्दा बढी रकम खर्च गरिसकेको भएपनि पुँजिगत तर्फ भने एकदमै न्यून रकम खर्च गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीले पुँजितग तर्फका योजनाहरुको निर्माण कार्य सम्पन्न नभैसकेका कारण खर्चमा कमी देखिएको बताए । उनले पुँजिगततर्फका केही साना तिना योजनाहरु सम्पन्न भएपनि ठुला योजनाहरु सम्पन्न नभएको बताए ।

attariya hospital
navjiwan hospital

‘नगरका अझै करिब १०/१२ ठुला योजनाहरु सम्पन्न भएका छैनन’ उनले भने ‘केही साना योजनाहरु सम्पन्न भएर भुक्तानी दिईए पनि ठुला योजनाहरु सम्पन्न नभएका कारण बजेट कम खर्च भएको देखिएको हो ।’ उनले नगरपालिकाका सडक, कल्भर्ट लगायतका ठुला योजनाका कामहरु नसकिएकाले पुँजिगत खर्च नभएको बताए । उनले चालु आर्थिक वर्षको असार मसान्तसम्ममा पुँजिगत खर्च पनि बढी देखिने बताए । ‘असार मसान्त सम्म सक्ने गरी सम्झौता भएका छन’ उनले भने ‘काम सकिएका योजनाहरुका भुक्तानी भएपछि खर्च पनि देखिने हो ।’

तर विगतको अवस्था हेर्दा भने नगरका त्यस्ता योजनाहरु एक आर्थिक वर्षमा सकिएको नदेखिएको उनले बताए । ‘अहिले हामीले असार मसान्त सम्म मात्रै म्याद दिएका छौ’ उनले भने ‘तर विगतमा पनि दिईएको म्यादमा निर्माण कार्य सकिएको अवस्था छैन, यस पटक भने सकिन्छ की भन्ने छ ।’ उनले सम्झौता अवधीमा पनि निर्माण कार्य नसकिए कार्यपालिकाको बैठकले निर्णय गर्ने बताए । उनले कार्यपालिकाको बैठकको निर्णय अनुसार नै निर्माणको म्याद थप्ने या बन्द गर्ने भन्ने विषयको टुंगो लाग्ने बताए । म्याद थप भएपनि योजनाको बजेट भने सुरुवाती वर्षकै रहने नगरपालिकाले जनाएको छ ।

पुँजिगत योजनाहरुको म्याद अर्काे आर्थिक वर्षका लागी थप भए सो बजेट पनि अर्काे आर्थिक वर्षमा सरेर जाने प्रमुख प्रशासकिय अधिकृत खत्रीले बताए । ‘अर्काे आर्थिक वर्षमा अलग बजेट विनियोजन हुदैन’ उनले भने ‘योजनाका लागी अघिल्लो वर्ष छुट्याईएको रकम नै सरेर जान्छ, सम्झौता अनुसार थपिएको म्याद भित्र सोही रकममा काम सम्पन्न गर्नुपर्ने हुन्छ ।’ नगरपालिकाको पुँजिगत तर्फको बजेट खर्च कम देखिएपनि चालु तर्फ भने आधा भन्दा बढी रकम खर्च भएको देखिन्छ । चालु तर्फको ७४ करोड ५३ लाख ४५ हजार रुपैयामा नगरपालिकाले ४५ करोड ४८ लाख ७५ हजार ३ सय २८ अर्थात करिब ६१ प्रतिशत रकम खर्च गरिसकेको छ ।