धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशको पर्यटन विकासका लागि प्रदेश सरकारले ठोस नीति ल्याउने बताएका छन् । पर्यटकीय क्षेत्र रामारोशनको अवलोकन गर्दै उनले सरकारले ठोस नीति ल्याएर प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने बताए ।
‘प्रदेश सरकार गठन भइसकेपछि पर्यटन क्षेत्रको विकासका लागि ठोस नीति ल्याउनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध छ’ उनले भने, ‘ पर्यटन क्षेत्रको विकास गर्न सकेमा समग्र प्रदेशको विकास हुन्छ । पर्यटन क्षेत्रले आर्थिक संवृद्धिमा महत्त्वपूर्ण टेवा पुग्छ ।’


रामारोशनको अवलोकनमा मुख्यमन्त्री शाहसँगै भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा पनि पुगेका थिए । उनले पनि पर्यटकीय क्षेत्र सम्म पर्यटकलाई सहज रूपमा पुग्ने व्यवस्था गर्न प्रदेश सरकार लागिरहेको बताए ।
उनीहरूले रामारोशनमा रहेको पर्यटकीय क्षेत्र बाट्टुला ताल , जिगले ताल र रोशन चउरको स्थलगत अवलोकन गरेका थिए । उनीहरू सँगै सुदूरपश्चिम प्रदेशसभा सदस्य झपट बहादुर साउँद , रामारोशन गाउँपालिकाका अध्यक्ष मान बहादुर साउँद जनप्रतिनिधि , कर्मचारी , स्थानीयहरूको सहभागिता रहेको थियो ।
रामारोशन क्षेत्र अछाम जिल्लाको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो। बाह्र बण्ड, अठार खण्डका नामले चिनिने रामारोशन पर्यटकीय सम्भावना बोकेको ठाउँ हो ।


















