काठमाण्डौं – राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन । अपराह्न वसन्तपुरस्थित कुमारी घर पुगेका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गरेको उनको प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।

राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्य लगायतले कुमारी घरमा स्वागत गरेको थियो । राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका थिए । राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न जाँदा सडक खाली नगरी गएका थिए ।

कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्किएका थिए । यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन ।
यसअघि कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको थियो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पु¥याउने परम्परा छ ।


















