खाेज्नुहाेस

आज सातौँ निर्वाचन दिवस 

Image

काठमाडौँ –  निर्वाचन आयोग निर्वाचन कानुन र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षहरूमा दृढतापूर्वक अग्रसर हुने भएको छ । सातौँ निर्वाचन दिवसका अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले शुभकामना सन्देश जारी गर्दै निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानुनी र संस्थागत संरचनासहित समयानुकूल बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्न लागिएको जानकारी गराए ।

उनले यस वर्षका निर्वाचन सञ्चालन र व्यवस्थापनका क्रममा आयोगले संविधान र कानुनको पालनासहित अवलम्बन गरेका नवीन अभ्यासको समीक्षाका क्रममा केही सकारात्मक पहल गर्न सकिएको अनुभव भएको उल्लेख गर्दै देखिएका समस्या र चुनौतीलाई समाधान गर्न मार्गदर्शन पनि प्राप्त भएको प्रष्ट पारे।

attariya hospital

त्यसैगरी यसै वर्ष सम्पन्न स्थानीय तह, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट आफूले रोजेका प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने नागरिक अधिकारको वैधता र सुनिश्चितता प्राप्त भएकामा खुसी व्यक्त गर्दै आयोगले निर्वाचनमार्फत निर्वाचित सम्पूर्ण जनप्रतिनिधि एवं निर्वाचनमा सहभागी सबैलाई हार्दिक बधाई ज्ञापन गरेको छ ।

navjiwan hospital

“निर्वाचन लोकतन्त्रको सार्थक अभ्यास गर्ने सबैभन्दा सशक्त माध्यम हो, लोकतान्त्रिक प्रणालीअन्तर्गत सम्पन्न हुने आवधिक निर्वाचनले नै प्रतिनिधिमूलक शासन व्यवस्थालाई संस्थागत र मजबुत बनाउँछ”, सन्देशमा भनिएको छ । विसं २०१५ फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज हामी सातौँ निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाउँदै छ । यो वर्ष निर्वाचन आयोग तथा आम मतदाताका लागि पनि विशेष वर्षको रूपमा रहेकाले सातौँ निर्वाचन दिवस पनि विशेष र अविष्मरणीय रहन गएको आयोगको भनाइ छ ।

‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनः शान्ति, स्थिरता, समृद्धि र सुशासन’ भन्ने निर्वाचन आयोगको मूल मन्त्रलाई आत्मसात् गरी आयोगको नेतृत्वमा सबै सरोकारवालाको समन्वय, सहयोग, साझेदारी र सहकार्यमा स्थानीय तह सदस्य निर्वाचन वैशाख ३० गते र प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, मङ्सिर ४ गते मुलुकभर एकै चरणमा सफलतापूर्वक सम्पन्न भएको छ ।

यही फागुन २५ र चैत ३ मा हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै नेपालको संविधान जारी भएपछिको दोस्रो कार्यकालका लागि सबै आवधिक निर्वाचनहरू पूरा हुने आयोगको विश्वास छ । आयोगले ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने सातौँ निर्वाचन दिवसका नारालाई सार्थक बनाउन सबैको निरन्तर सहयोग, साझेदारी, सहकार्य र समन्वय अझ मजबुत हुनेछ भन्ने विश्वास लिएको छ ।

रासस