खाेज्नुहाेस

वैदेशिक जागिर छाडेर भैँसीपालन, मासिक ७० हजार आम्दानी

Image

सहजपुर – क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भैँसी पालनमा रमाइरहेका छन । उनले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहेका छन ।

साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गर्नुभएका गोदावरी नगरपालिका– २ अत्तरियाका उनले विदेशमा छँदा मासिक तीन लाख आम्दानी गर्थे ।

attariya hospital

पुख्र्यौली घर बझाङको छविस पाथिभेरा–२ भएका उहाँले नेपालमा ‘एचए’ पूरा गरी नर्सिङ पढ्न साइप्रस गएका थियो । साइप्रसबाट अध्ययन सकेर स्वदेश फर्किएको केही समयपछि जागिर नपाएपछि उनी वैदेशिक रोजगारीमा गएका थिए ।

सुरुवातमा काम गर्न दुबई पुगेका उनले त्यहाँ मासिक एक हजार ६ सय डलरमा काम सुरु गरे । करिब १४ महिना दुबईमा काम गरेका हिक्मतलाई विदेशमा भइरहेको त्यो कमाइ चित्त बुझेन । दुबईको १४ महिनाको कामलाई विश्राम दिएर उनी कुवेतमा मासिक दुई लाख ९० हजारको जागिर गर्न थाले ।

‘व्यक्तिगत खर्च कटाएर मासिक दुई लाख ९० हजार घर पठाउथे’, उनले भने ‘त्यहाँ मैले चार वर्ष आठ महिना काम गरेँ ।’ त्यसपछि बिदामा घर आउनुभएका उनी विदेश फर्केनन् ।

navjiwan hospital

बिदामा घर आएक उनी कुबेतको जागिर छाडेर सुरुमा कुखुरापालन गरेका थिए । कुखुरापालनबाट सुरुवाती चरणमा राम्रै आम्दानी भए पनि पछि भने लाखौँ घाटा बेहोर्नु प-यो ।

‘सुरुवाती चरणमा करिब चार लाख जति कमाएँ’ उनले भने ‘पछि बजारको सिन्डिकेटका कारण घाटा बेहोरे ।’ उनले कुखुरापालनकै कारण विदेश छँदा कमाएको ४६ लाख नगद र छ तोला सुन पनि सकियो । कुखुरापालनबाट लाखौ डुबेपछि हरेश खाएका हिक्मतले फेरि विदेश जाने सोच बनाए । क्यानडाको भिसा लगाएर जाने तयारी गरिरहेका उनले साथीको सल्लाहका कारण त्यहाँ गएनन् ।

‘कुखुरापालनबाट लाखौ गुमाउँदा भएको तनावपछि विदेश जाने भनेर क्यानडाको भिसा लगाए, सबै तयारी पूरा भएर जाने तरखर गर्दै थिए साथीको सल्लाहले फेरि रोकिए’, उनले भने ‘साथीको सहयोगमा बैंकबाट कर्जा लिएर भैँसीपाल्न सुरु गरेको हुँ । अहिले भैँसीपालनबाट राम्रो आम्दानी भइरहेको छ ।’ कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा एक बिघा १२ कठ्ठा जमिन भाडामा लिएर उहाँले हेमा कृषि फार्म सञ्चालन गरेका छन ।

फार्ममा भैँसीपालन व्यवसाय सुरु गरेको करिब सात महिना पुग्न लाग्यो । भैँसीपालनमा पनि सुरुवाती चरणमा आफूले घाटा बेहोर्नुपरेको उनले सुनाए । ‘साथीको सल्लामा अर्का एकजनामार्फत भैँसी किनेर ल्याए तर दूधै नदिने भएपछि आधा पैसामा बिक्री गरेँ’ उनले भने । हाल उनको फार्ममा छ वटा भैँसी छन् । दूध बिक्रीबाट मात्रै हाल मासिक करिब ७० हजार नाफा भइरहेको उनको भनाइ छ ।

‘अहिले प्रतिलिटर ८० का दरले दैनिक ६४ लिटर दूध बिक्री गर्छु’ , उनले भने ‘प्रत्येक महिना दूध बढ्दै गइरहेको र आम्दानी पनि बढ्दै जाने विश्वास लिएको छु ।’ कुल ५६ लाख लगानी भएको कुखुरापालन व्यवसाय डुबेपछि आठ लाख ऋण लिएर सुरु गरेको भैँसीपालनबाट भने सन्तुष्टि मिलेको उनको भनाइ छ । भैँसीपालनमा श्रीमती र एक जना आफन्तले सहयोग गर्दै आएका छन् ।

रासस