अत्तरिया – कैलालीमा लगातार ११ औं पटक हात्तिपाईले रोग विरुद्धको आम औषधी खुवाईने भएको छ । यही फागुन ११ गतेदेखि जिल्लामा हात्तिपाईले विरुद्धको आम औषधी खुवाईने भएको हो । सुदूरपश्चिमका ९ जिल्लामध्ये कैलालीमा मात्रै यस वर्ष हात्तिपाईले विरुद्धको आम औषधी खुवाईन लागिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले बताए ।
हात्तिपाईले रोगको निवारणका लागी गरिने प्रि–ट्रान्समिसन एसिस्मेन्ट सर्भे (प्रि–टास) मा कैलाली जिल्ला पास हुन नसकेकाले फेरी ११औ पटक औषधी खुवाईन लागेको उनले बताए ।

उनका अनुसार कैलाली बाहेक सुदूरपश्चिमका अन्य सबै जिल्लाहरु प्रि–टास सर्भेमा पास भैसकेका छन । ‘यो सर्भेका तिन वटा चरणहरु छन, अरु सबै जिल्लाहरुले पास गरिसकेका भएपनि कैलाली पहिलो चरणमै पास हुन सकेको छैन’ उनले भने ‘त्यसैले अहिले कैलालीका सबै पालिकाहरुमा औषधी खुवाईन लागेको हो ।’ उनले हात्तिपाईले विरुद्धको आम औषधीलाई प्रभावकारी बनाउन गत वर्ष र यो वर्ष एउटा औषधी थप खुवाईदै आएको बताए ।
‘पहिलेका वर्षहरुमा २ वटा मात्रै औषधीहरु खुवाउने गरिन्थ्यो’ उनले भने ‘तर गत वर्षदेखी एउटा औषधी थपेर ३ वटा औषधी खुवाउने गरिदै आएको छ, यो औषधी अलि प्रभावकारी पनि छ । यो औषधी खाने वित्तिकै हात्तिपाईले सदाको लागी निवारण हुन्छ ।’ थपिएको औषधीले जुम्रा, लिखा, पेटमा भएका अन्य जुका, दाद, लुतो लगायतका रोगहरु पनि निको गर्ने उनको भनाई छ ।

गत वर्ष कैलालीमा करिब ८० प्रतिशत को हाराहारीमा हात्तिपाईले विरुद्धको आम औषधी खुवाईएको बताउदै उनले चालु आर्थिक वर्षमा त्यो भन्दा राम्रो नतिजा देखाउन आम औषधी खुवाउने अभियान सञ्चालन गरिएको बताए । शिक्षित भएपनि मलाई रोग छैन भन्ने नागरिकको परिपाटीका कारण कैलाली पास हुन नसकेको उनले बताए । ‘यहाँका शिक्षित मानिस नै मलाई केही रोग छैन भन्दै दिएको औषधी पनि खादैनन्’ उनले भने ‘त्यसैले कैलाली हालसम्म पनि पास हुन सकेको छैन, रोगको निवारण त औषधीले गर्छ नि, औषधी नै नखाई पास हुने सम्भावना नै छैन ।’
लगातार ६ पटक खाएपछि मात्रै पहिलो चरणको प्रि–टास सर्भे गरिन्छ । प्रि–टासमा पास हुने जिल्लालाई टास र पोस्ट टासमा पनि सहभागी गराईन्छ । ति सबै चरणहरु पास भैसकेपछि मात्रै जिल्लालाई हात्तिपाईले निवारण घोषणा गरिन्छ । प्रदेशका अन्य जिल्लाहरु प्रि–टास पास भैसकेर माथिल्लो चरणमा पुगिसकेपनि कैलाली करिब ५ पटक जति प्रि–टास सर्भे फेल हुँदा यस वर्ष ११औ पटक औषधी खुवाइन लागिएको हो । तराईका दुई जिल्ला मध्ये कञ्चनपुर पनि अघिल्लो पटक मात्रै प्रि–टास सर्भेमा पास भएको हो । प्रि–टासमा पास भैसकेपछि भने औषधी सेवनको कार्य बन्द हुने जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामीले बताए ।
प्रदेशका पहाडी जिल्लाहरु समेत उक्त सर्भेमा पास भैसक्दा विकसित जिल्लाका रुपमा रहेको कैलाली पास हुन नसक्नु दुःखको कुरा भएको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत विर बहादुर कुँवर बताउँछन । उनले हात्तिपाईले सम्बन्धीका विभिन्न अफवाहहरुका कारण पनि रोग निवारणमा समस्या भैरहेको बताए । ‘कैलाली किन फेल भयो भन्ने विषयमा पनि अध्ययन भएको छ, त्यो अध्ययनले औषधी नै सेवन नगरेका कारण कैलाली फेल भएको देखाएको छ’ उनले भने ‘शिक्षित र बुझेका वर्गहरुले नै औषधीको बारेमा अफवाह फैलाएर खान नमान्दा हात्तिपाईले रोगको जटिलता बढ्दै गएको छ ।’ उनले हात्तिपाईले रोग लागिसकेपछि यसको उपचार नभएकाले सबैले लाग्नुअघि नै औषधी सेवन गर्न आवश्यक रहेको बताए ।
उनले पढेलेखेकै समुहबाट बढी अवरोध भैरहेका कारण समस्या भएको बताए । हात्तिपाईले रोग विरुद्धको आम औषधी खाँदा विरामी भईन्छ भन्ने मानसिकता भएकाले पनि औषधी सेवन गर्न मानिस हिच्कीचाउने गरेको उनले बताए । ‘यो औषधी खाएपछि सामान्य असर हुन्छ, त्यसमा पनि खाना खाएर खाँदा, पानी धेरै खाँदा र रोगको परिजिवि छैन भने असर हुदैन’ उनले भने ‘तर खाना नखाएर खाँदा, पानि नखाँदा, रोगको परजिवि हुँदा औषधी असर अलि बढी हुन्छ । तर बढी असर भयो भन्दैमा भविष्यमा समस्या हुनुभन्दा अहिले त्यो असर सहेर औषधी खानु एकदमै उपयुक्त हुन्छ ।’
हात्तिपाईले रोग मानिसलाई नराम्रो गरी शारिरीक रुपमा असक्त, असमर्थ तथा अपांग बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीबाट संक्रमण भए पछि लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेर यी परजिवीहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्छ ।
विश्व स्वास्थ्य संगठनले सन् २०२० भित्र विश्वबाट हात्तिपाईले रोग निवारण गर्न आह्वान गरे अनुसार नेपालले पनि प्रतिबद्धता जनाएको थियो । तर नेपालमा सन २०२० सम्म हात्तिपाईले रोग निवारण हुन नसक्दा हाल सरकारले सन २०३० सम्म हात्तिपाईले रोग निवारण गरिसक्ने लक्ष्य लिएको छ ।

















