मिर्मीरेमा भाले नबास्दै
‘जेउणो’ बोकेर ‘रोल’ चहार्ने
हिड्दा काडाँहरुले कोपरेर अनि
ढुंगाहरुले थिचेर
लागेका अनगन्ती घाउहरुमा
थुक र माटो दलेर निको पार्न सक्ने

छाउगोठका काला र चिसा भित्ताहरुसीत
आफ्नो जिवनको लगभग आमा उमेर
बिताउन सक्ने

ठुलो खोलाको उर्लदो भेलमा पनि
पिठ्युमा घाँसको भारी बोकेर
तिब्र गतीको पानीको वहाव छिचोल्दै
दिनहुँ जसो मेलापात भर्न सक्ने
ठाउँ ठाउँ काटीएको अनुहार
जंगलले नङग्रा हालेका स्तन
अनि ढुंगाले रगताम्य
बनाएको गुप्ताङ्ग भएपनि
आफ्नो कौमार्य लिलाम नगरेका
लाखौ विश्वसुन्दरीहरु
मेरो देशमा छन
ए ! विश्वसुन्दरी प्रतियोगीताका जजहरु हो
तिमीहरुलाई विश्वसुन्दरी घोषणा गर्न
कुन आधार चाहिन्छ ?
जेउणो : हातले बनाईएको घाँस बाध्ने रसी
रोल : जंगल लेखक पुस्कर साउँद
दिपायल सिलगढी नगरपालिका – १ गोसेडा, डोटी

















