अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको सानाकिसान कृषि सहकारी संस्था लिमिटेड मालाखेतीको २६औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष तेजराज अवस्थीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक बासुदेव भट्ट रहेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो । संस्थामा आर्थिक वर्ष २०७८/०७९ मा भएगरेका कामकारबाही तथा आर्थिक विवरणहरु कार्यक्रममा प्रस्तुत गरिएका थिए ।


संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष अवस्थीले प्रस्तुत गरेका थिए । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले गरिबी निवारण गर्न नै संस्थाको स्थापना भएको बताए । उनले समाजमा व्याप्त रहेको गरिबीलाई हटाई सदस्यहरुको आर्थिकस्तर उकास्नका लागी सानकिसानले काम गर्दै आईरहेको बताए । ‘संस्थामा आवद्ध सदस्यहरुको जिवनस्तरमा व्यापक सुधार हुनुपर्छ र सोही तर्फ नै सहकारीको प्राथमिकता हुनुपर्छ भन्ने मेरो ठम्याई छ’ उनले भने ‘त्यसैले पनि साना किसानहरुको आर्थिक प्रगती गरी उनिहरुलाई व्यवसायीक बनाउने काममा हामी लागेका छौ ।’ उनले संस्थामा आवद्ध सदस्यहरुलाई व्यवसायीक रुपमा आयआर्जन गर्ने वातावरण सृजना गर्न सहकारी निरन्तर लागीरहने बताए ।
यसैगरी संस्थाको प्रस्तावित बजेट र निति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका मुख्य प्रबन्धक गोरख बहादुर खत्रीले संस्थाको दिगो विकासका लागी सदस्यहरुको सहयोग अपरिहार्य रहने बताए । कतिपय सदस्यहरुले कर्जा लगेर समयमै भुक्तानी नगर्ने परिपाटीप्रति निराशा व्यक्त गर्दै उनले संस्थाको दिर्घकालिन विकास र नियमित सञ्चालनका लागी सदस्यहरुले पनि जागरुक बन्नुपर्ने बताए । ‘उनले सदस्यहरुको सहजताका लागी हामीहरुले प्रत्येक वर्ष विभिन्न योजनाहरु ल्याउने गरेका छौ’ उनले भने ‘तर ति योजनाहरुको लाभ लिने सदस्यहरुले संस्थाको हितका बारेमा पनि सोचिदिनुपर्दछ, संस्थालाई आघात पुग्ने काम गरे संस्थाको प्रगती हुदैन, जसले सदस्यहरुलाई नै क्षती हुन जान्छ ।’
उनले विपन्न समुदाय र साना किसानहरुको वृहत्तर विकाशका लागी नै साना किसानको स्थापना भएको र आगामी दिनहरुमा पनि सहकारीले विपन्न वर्गका नागरिकहरुको हितका लागी काम गर्ने बताए । हाल एउटा मात्रै शाखा कार्यालय रहेका सहकारीले चालु आर्थिक वर्षमा कैलालीकै चुरे गाउँपालिकामा अर्काे शाखा खोल्ने योजना लिएको उनले बताए । ‘हामीले साना किसानहरुको या भनौ विपन्न वर्गका मानिसहरुको आर्थिक उपार्जनका लागी काम गर्दछौ’ उनले भने ‘त्यसैले नै विकट क्षेत्र गोदावरी ११ ओलानीमा शाखा कार्यालय खोलेका छौ भने चुरे गाउँपालिकाको सहजपुरमा पनि चालु आर्थिक वर्ष भित्रै शाखा कार्यालय खोल्ने तयारी छ ।’ उनले सहजपुरको शाखा कार्यालयका लागी तयारी पुरा भैसकेको बताए ।
कार्यक्रममा संस्थाको लेखा परिक्षण प्रतिवेदन संस्थाका लेखा प्रबन्धक प्रताप दत्त भट्टले प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन लेखा समिति सदस्य चेतना भण्डारीले प्रस्तुत गरेकी थिईन । आर्थिक प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा कुल ३७ करोड ३७ लाख ३७ हजार २१३ रुपैया बराबरको कारोबार गरेको छ । उक्त कारोबारबाट संस्थाले कुल १ करोड १९ लाख १६ हजार ९०९ रुपैया नाफा आर्जन गर्न सफल भएको छ । संस्थाकी उपाध्यक्ष भगवती देवी खनालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्था सहायक बबिता गुरुङ्गले गरेकी थिईन ।
