अत्तरिया – नेपालको संबिधान २०७२ जारी भएपछि आज दोस्रो पटक प्रतिनिधि र प्रदेशसभा निर्वाचन हुँदै छ । आज बिहान ७ बजे देखि साभm ५ बजे सम्म देशैभरी एकैचरणमा निर्वाचन हुन लागेको हो ।

मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९ सय ६० कर्मचारी एवं आवश्यकता अनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् भने मतदानस्थल र मतदान केन्द्र निर्माण सकिएको छ ।

निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले १० हजार ८ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्दै छन् । यसैगरी १ सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायकपर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन ।
निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ हजार ४ सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार १ सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ । प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन भने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७ सय ८ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ ।
यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल ५ हजार ६ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन भने प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९ सय ७ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।