झापा – हात्तीबाट पाकेको धानबाली जोगाउन बाहुनडाँगीमा सात वटा साइरन जडित ट्र्याक्टर परिचालन गरिएको छ ।

भारतबाट दैनिक ५०–६० को सङ्ख्यामा नेपाल प्रवेश गर्ने हात्तीलाई धपाउन सीमानाकामा साँझ परेदेखि उज्यालो नभएसम्मका लागि साइरनसहितको ट्र्याक्टर परिचालन गरिएको हो । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका सीमा क्षेत्रको आलडाँगी, भोर्लेनी, बाहुनडाँगी भन्सार नाका, मिलनचोक, पुरानो नकलबन्द जाने बाटो, राइसिङ पुल र माता चोकमा एक–एक वटाका दरले ट्र्याक्टर राखिएको वडाध्यक्ष अर्जुन कार्कीले बताए ।

विगत सात वर्षअघि प्रकृति संरक्षण कोषमार्फत गरिएको विद्युतीय तारबार भत्काएर हात्ती गाउँ पस्न थालेपछि गाउँवासी र अन्नबालीको सुरक्षाका लागि साइरन जडित ट्र्याक्टर परिचालन गरिएको अध्यक्ष कार्कीको भनाइ छ ।
विद्युतीय तारबार मर्मतसम्भारको अभावमा काम नलाग्ने अवस्थामा पुगेको बताउँदै कार्कीले भने ‘हुल बाँधेर आएका हात्ती साइरन बज्न थालेपछि तितरवितर भएर भारततर्फ फर्किन्छन् । दिगो समाधान होइन, तत्कालको लागि बाली जोगाउने वैकल्पिक उपाय भएको छ ।’



















