खाेज्नुहाेस

तिहारले कञ्चनपुरका बजारमा चहलपहल बढ्यो

Image

वेदकोट – नेपालीहरुको महानचाड दीपावलीले कञ्चनपुरका साना ठूला बजारमा चहलपहल बढेको छ । पछिल्ला केही दिनयता तिहारका लागि सामान किनमेल गर्नेको बजार क्षेत्रमा बाक्लो भीड लाग्ने गरेको छ । तिहारमा प्रयोग हुने सामान झिलिमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, माला, सप्तरङ्गी टीका लगायतका सामग्री यतिबेला बजारमा जहातहीँ बेच्न राखिएका छन् ।

अन्य समयको तुलनामा चाडबाडमा किनमेल गर्नेको सङ्ख्या बढी हुनाले व्यापार राम्रो हुने गरेको महेन्द्रनगरका व्यापारी सीताराम धामीले बताए । ‘तिहारले मानिसको बजारमा ओहोरदोहोर बढेको छ, लुगाकपडा तथा सामान किनमेल गर्ने हुनाले यो समयमा व्यापार राम्रै हुन्छ’ उलने भने ।

attariya hospital
navjiwan hospital

भीमदत्त नगरपालिका–९ स्थित पुरानो बजार ब्रह्मदेवका व्यापारी सुनिलदत्त जोशी बजारमा मानिसको चहलपहल बढेकाले व्यापार हुनेमा खुसी हुनुहुन्छ । “व्यापार भारतीय ग्राहकमा निर्भर रहन्छ, चाडबाडले अहिले ग्राहक धेरै आइरहेका छन’ उनले भने ‘अन्य दिनको तुलनामा कारोबार बढ्ने अनुमान गरेका छौँ ।’ कोरोना महामारीले धरासायी बनेको व्यापार चाडबाडले चलायमान बनाउने ब्रह्मदेवकै व्यापारी गोपालसिंह धामीको आशा छ ।

‘कोरोनापछि चहलपहल हुन सकेको थिएन, व्यापार शू्न्य भएर व्यवसायी विस्थापित भए’, धामीले भने, ‘कोरोनाको डरले मानिस बाहिर निस्केनन्, अहिले व्यापार राम्रै भइरहेको छ ।’ कोरोनापछि थलिएको व्यापार विस्तारै चलायमान बन्दै गएको ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले बताए ।

‘कोरोनापछि अपेक्षाकृत हिसाबले व्यापार उठ्न सकेको छैन, चाडबाडमा चहलपहल बढेकोले विस्तारै व्यापार चलायमान बन्दै गएको छ’, उनले भने, ‘विगतमा कोरोनोले दसैँ, तिहारमा पनि व्यापार शून्य जस्तै थियो, यसपटक राम्रै व्यापार हुने अपेक्षा लिएका छौँ ।’

रासस