अत्तरिया – कैलालीको अत्तरिया चोक व्यवस्थीत बन्दै गएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी समेत घोषणा भएको गोदावरी नगरपालिकाको पहिचान दिलाउने उक्त चोकमा नगरपालिकाले आवश्यक संरचनाहरुको निर्माण थालेसँगै चोक व्यवस्थीत बन्दै गएको हो ।
नगरपालिकाले चोकको व्यवस्थापनका लागी विभिन्न योजनाहरु अघि सारेर कार्यान्वयन गरीरहेको छ । केही दिन अघि मात्रै नगरपालिकाले चोकमा ‘हाईमास्ट लाईट’ जडान गरेको थियो । रातीको समयमा यात्रु तथा व्यापारीहरुलाई आवत जावतका साथै व्यापारीक सुरक्षाका लागी पनि चुनौती रहेको भन्दै नगरपालिकाले उक्त लाईट जडान गरेको हो । उक्त लाईटले चोरी डकैतीका घटनाहरु कम गर्नुका साथै दुर्घटनाका घटनाहरु पनि कम हुने नगरपालिकाले जनाएको थियो । ७२ सय वाटको उक्त लाईट टाईम सेट गरेपछि आफै खुल्ने र बन्द हुने प्रविधिको रहेको छ ।

लाईट मात्रै नभई अत्तरिया चोकमा अहिले डिस्प्ले बोर्ड पनि राखिएको छ । उक्त डिस्प्लेमा गोदावरी नगरभित्रका मात्रै नभई सुदूरपश्चिम प्रदेशभित्र रहेका धार्मिक एवम् पर्यटकिय क्षेत्रहरुका तस्बिरहरुका साथै यहाँका कला, संस्कृतिहरु जर्गेना गर्ने खालका तस्बिरहरु देखिने गर्दछन ।
यसका साथै नगरपालिकाले उक्त चोकमा वाटर फाउन्टिङ पनि जडान गरेको छ । चोकमा राखिएको राजा महेन्द्रको शालिक वरपर रहने गरी नगरपालिकाले वाटर फाउन्टिङ जडान गरेको हो । उक्त वाटर फाउन्टिङले चोकको सुन्दरतामा अझ निखार ल्याउने नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले बताए । ‘नगरकै मुख्य चोक, प्रदेशकै प्रवेशद्धारमा रहेको यस चोकलाई व्यवस्थीत बनाउने हाम्रो योजना छ’ उनले भने ‘सोही मुताविक चोकमा हाईमास्ट लाईट, डिस्प्ले बोर्ड, वाटर फाउन्टिङ लगायतका सामग्रीहरु जडान गरेका छौ, जसले चोकलाई पनि सुन्दर देखाउने छ भन्ने विश्वास लिएको छु ।’
बिलबोड हटाइयो
यसैबिच नगरपालिकाले मंगलबार चोकमा रहेको बिलबोड पनि हटाएको छ । २०७५ सालको पुष महिनामा जडान गरिएको उक्त बिलबोर्डले चोकको सुन्दरता हराएको भन्दै नगरपालिकाले हटाएको हो ।
गत स्थानीय तहको निर्वाचनमा विजयी जनप्रतिनिधिहरुले चोकमा व्यवसायीक विलबोर्ड जडानका लागी २०७४ सालमै क्यालडोन ग्राफिक कम्पनीसँग सम्झौता गरेको थियो । चोकमा विलबोर्ड जडान गरेवाफत कम्पनीले चोकमा सिसि क्यामरा, स्थानीय तापक्रम, समय र अन्य विज्ञापन सामाग्री डिस्प्ले गरिने जनाईएको थियो ।
त्यसका साथै कम्पनीले चोकमा रहेको पार्कको सजावट, ट्राफिक बुथ, सोलार प्रतिक्षालय र सडक लाइटहरु पनि जडान गर्ने सम्झौतामा उल्लेख छ । त्यतिमात्रै नभई चोकमा बिलबोर्ड जडान गरेवाफत कम्पनिले नगरपालिकालाई राजश्व तिर्ने समेत सम्झौतामा उल्लेख गरिएको थियो । तर सम्झौता अनुसार कम्पनिले काम नगर्दा चोक नै कुरुप बनेको थियो । सोही विषयलाई लिएर नगरबासीहरुले चोकको बिलबोर्ड हटाईनुपर्ने पटक पटक माग राख्दै आएका थिए ।
नगरप्रमुख भट्टले नगरबासीको माग बमोजिम चोकको बिलबोर्ड हटाईएको बताए । ‘नगरबासीहरुको धेरै माग भएकाले म निर्वाचित भएर आएदेखि नै मुख्य प्राथमिकतामा यसलाई हटाउने विषय राखेको थिए’ उनले भने ‘सोही अनुसार निर्माण कम्पनीसँग छलफल पनि गरे, गत साउन १२ गते भित्र हटाउने भन्ने निर्णय पनि भयो, तर निर्माण कम्पनिका प्रतिनिधिले माईन्युटमा हस्ताक्षर नगरी नै निस्किएपछि काम गर्न ढिलाई भयो ।’

उनले बोर्ड हटाउनका लागी निर्माण कम्पनिसँग पटक पटक पत्राचार गर्दा पनि कम्पनीले अटेरी गरेपछि कानुनविद्हरु सँगको छलफलमा हटाईएको बताए । ‘कानुनी व्यवधानका कारण हटाउन केही समय लाग्यो’ उनले भने ‘साउन १२ गते भित्र हटाउछु भनेको थिए, कानुनी बाधाहरु आईलागे, बल्ल अहिले ३ महिना पछि काम हुदैछ, नियमसंगत जाँदा अलि समय चाही लाग्दो रैछ ।’
उनले कम्पनीले सम्झौता अनुसारका कुनै पनि काम नगरेको र नगरपालिकालाई पनि राजश्व प्राप्त नभएको बताए । उनले नगरबासीहरुको चाहना अनुसार नै आफुले बिलबोर्ड हटाएको बताए ।
अफर इन्कार
बिलबोर्ड सोही ठाउँमा राख्नलाई आफुलाई विभिन्न अफरहरु आएको बताउदै नगरप्रमुख भट्टले आफुले अफर भन्दा पनि नगरबासीको चाहनालाई ध्यानमा राखेको बताए ।
‘मलाई थाईल्याण्ड घुमाउन लैजाने भन्ने अफर गरेका थिए, विगतमा पनि नगरप्रमुख ज्युलाई चाईना घुमाएका रहेछन’ उनले भने ‘तर मैले गलत कुरा हुन दिदैन भनेर ईन्कार गरे, त्यतिमात्रै नभई नगरबासीहरुको माग बमोजिम मैले काम गर्नुपर्छ भन्ने मैले सोचेको थिए ।’ उनले बिलबोर्ड हटाउने कामप्रति नागरिकहरुको अत्यन्त सकारात्मक प्रतिक्रियाहरु आएको बताए ।
स्थानीय खुसि
नगरपालिकाले बिल बोर्ड हटाएको प्रति अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले खुसी व्यक्त गरे । ‘बिलबोर्ड राख्ने समयमा पनि एक्लै अत्तरिया उद्योग वाणिज्य संघले विरोध गरेको थियो’ उनले भने ‘त्यतिबेला हाम्रो कुरा सुनिएन, अत्तरिया चोक व्यवसायीक कम्पनिलाई विज्ञापनका लागी जिम्मा दिईएको थियो ।’
उनले विलबोर्ड राख्ने विषयमा भएको सरोकारवालाको बैठकमा पनि आफुले माईन्युटमा निर्णय नगरीकनै निस्किएको बताए । ‘सुरुवाती चरणमा विरोध गरेपनि कसैले सुनुवाई गरेका थिएनन’ उनले भने ‘अहिले नयाँ जनप्रतिनिधिहरु आएपछि नगरबासीहरुको चाहना बमोजिम काम गरे, यो काम एकदमै राम्रो छ । नगरप्रमुखज्यु लगायतको टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु ।’ उनले चोकलाई अझ व्यवस्थीत बनाउन पार्कको रंगरोगन गर्ने, चोकमा भएका अव्यवस्थीत तारहरु हटाउने लगायतका कामहरु गर्नुपर्ने बताए ।
यसैगरी गोदावरी चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष मोहम्मद नईमुद्दिन भाटले नगरबासिको चाहना अनुसार नगरपालिकाले चोकमा रहेको बोर्ड हटाउने कार्य गरेको बताए । उनले चोकलाई अव्यवस्थीत र कुरुप देखाईरहेको बिल बोर्ड हटाईदा चोकको सुन्दरता बढ्ने बताए ।
‘प्रदेशकै प्रवेश द्धारका रुपमा रहेको अत्तरिया चोकलाई विज्ञापनको हब बनाईदा नागरिकमा निराशा छाएको थियो’ उनले भने ‘यो कामले आम नगरबासीमा एकदमै राम्रो उत्साह जागेको छ, नगरबासीहरु खुसी भएका छन ।’
अत्तरिया चोकमा राखिएको बोर्ड नगरबासीको हितमा नभई व्यवसायीक कम्पनि र व्यक्ति विशेषको हितमा भएकाले त्यसलाई हटाउन आवश्यक भएको उनले बताए । उनले बिलबोर्डले चोकको सुन्दरता खलबलाएको बताए ।
यता गोदावरी नगरपालिका वडा नं. २ निवासी राज भट्टराईले चोकको सुन्दरता विगार्ने बिलबोर्ड हटाईनु एकदमै राम्रो काम भएको बताए । ‘एकदमै राम्रो छ, बजारको शोभा विगारेको थियो, नगरपालिकाले हटायो राम्रो ग¥यो’ उनले भने । उनले प्रदेशकै प्रवेशद्धारमा रहेकाले चोकलाई अझै व्यवस्थीत बनाउन आवश्यक रहेको समेत बताए ।

















