खाेज्नुहाेस

अत्तरियामा ब्याटमिन्टनको क्रेज बढ्दो

Image

अत्तरिया  – शनिबार बिहान कैलालीको अत्तरियामा रहेको होटल नमस्तेको अगाडी ४ जना युवाहरु ब्याटमिन्टन खेलिरहेका थिए । ति ४ जनाले खेलेको खेल अन्य ८/९ जनाले हेरिरहेका थिए । उनीहरु पनि हातमा -याकेट लिएर आफ्नो पालोको प्रतिक्षामा थिए । खेलमैदानमा एउटै ब्याटमिन्टन कोर्ट भएकाले खेलिरहेकाहरुको पालो सकिएपछि जाने गरी आ–आफ्नो समुह बनाएर उनीहरु बसेका थिए । यसैगरी गोदावरी नगरपालिका वडा नं. १ को कार्यालयमा पनि ब्याटमिन्टन खेल्ने मानिसको भिड थियो । ब्याटमिन्टनका दुई ओटा कोर्ट रहेको उक्त ठाउँमा ८ जना खेलिरहेका थिए भने करिब १४/१५ जना जना पालो कुरेर बसिरहेका देखिन्थे ।

पछिल्लो समय अत्तरियामा ब्याटमिन्टनको क्रेज बढेको देखिन्छ । बच्चा, युवा देखि वृद्ध सम्मकाले खेल्न मिल्ने खेलका रुपमा रहेको ब्याटमिन्टन खेल खेल्न कोर्टमा पालो कुर्नुपर्ने बाध्यता छ । अत्तरियाको गोदावरी नगरपालिका – ३ चौँकीडाडा, वडा नं. १ को वडाकार्यालय, होटल नमस्ते, नमस्ते फुडल्याण्ड लगायतका स्थानमा अहिले ब्याटमिन्टनका कोर्टहरु बनाईएका छन ।

attariya hospital

ति सबै ठाउँहरुमा दैनिक रुपमा ब्याटमिन्टन खेल्ने खेलाडीहरुको बाक्लो भिड लागेको हुन्छ । सुरुवातमा केही स्थानमा मात्रै कोर्टहरु भएपनि खेल्ने खेलाडीहरुको अभाव हुने अत्तरिया क्षेत्रमा पछिल्लो समय भने कोर्टहरु बढ्दै गएपनि खेल्नका लागी पालो पर्खनुपर्ने अवस्था छ । देशभर फैलिएको कोरोना महामारी पछि ब्याटमिन्टन खेलको क्रेज बढेको छ ।

होटल नमस्तेका सञ्चालन लक्ष्मण धामीले कोरोना महामारी यता ब्याटमिन्टन खेलमा सबैको रुची बढेको बताए । उनले ब्याटमिन्टनले शरिरलाई स्वस्थ राख्न पनि मद्दत गर्ने बताए ।

‘अहिलेको पिढिँले खानपिनमा ध्यान नपु-याउँदा विभिन्न रोगहरु लागरहेको अवस्था छ, खानपिनका कारण रोगहरु नलागोस् भन्नका लागी व्यायाम जरुरी रहेको छ’ उनले भने ‘त्यसको सबैभन्दा उत्तम विकल्प भनेकै ब्याटमिन्टन हो, ब्याटमिन्टन खेल्दा शरिरमा एकप्रकारको स्फुर्ति पैदा हुन्छ, शरिर स्वस्थ भएको महसुस हुन्छ ।’

navjiwan hospital

उनले शारिरीक व्यायामका साथै मनोरञ्जन पनि प्रदान गर्ने भएकाले ब्याटमिन्टन खेलप्रति अहिले सबैको आर्कषण बढेको बताए । धामीले आफैले होटलकै अगाडी ब्याटमिन्टन कोर्ट निर्माण गरेका छन । सो कोर्ट निर्माणमा करिब ५० हजार जती खर्च आएको उनी बताउँछन । ‘सुरुमा त म पनि खेल खेल्ने, त्यसमा वरपरका साथीभाई, बालबालीकाहरुलाई सहज हुने देखेर आफ्नै लगानीमा ब्याटमिन्टनको कोर्ट निर्माण गरेको हुँ’ उनले भने ‘अहिले सो कोर्टमा दैनिक १५/१६ जना भन्दा बढी खेलाडीहरु खेल्ने गर्छन ।’

ब्याटमिन्टन खेल्न आएका खेमराज सापकोटाले सबैले खेल्न मिल्ने खेल भएकाले यसप्रति सबैको आर्कषण बढेको बताए । ‘ब्याटमिन्टन सबैले खेल्न मिल्ने खेल हो, यसमा बच्चाहरु पनि छन, बृद्ध पनि छन’ उनले भने ‘त्यसैले शारिरीक व्यायाम पनि हुने र सहजै खेल्न पनि मिल्ने भएकाले अहिले यसको क्रेज अत्तरियामा बढ्दै गएको हो ।’

उनले अत्तरियामा पछिल्लो समय ब्याटमिन्टन खेल्नका लागी खालि कोर्ट खोज्दै हिन्नुपर्ने बाध्यता रहेको बताए । ‘ब्याटमिन्टन खेल्नका लागी अहिले त मानिसको यस्तो भिड लाग्छ की खेल्न नै पाईदैन’ उनले भने ‘ठाउँ ठाउँमा कोर्टको खोजीमा कैले कता त कैले कता जानुपर्छ ।’ उनले सरकारले ब्याटमिन्टनका लागी ईन्डोरमा ७/८ ओटा कोर्ट हुने खालको मैदान निर्माण गर्नुपर्ने बताए ।

‘बालक देखि वृद्ध सम्मको रोजाईमा अहिले यो खेल छ, यस्ता खेलकुदै माध्यमबाट कुनै बालक राष्ट्रिय स्तर सम्मको खेलाडी बन्न सक्छ’ उनले भने ‘त्यसैले जतीसक्दो यस्ता खेलकुदहरुमा बालबालिकालाई अवसर दिईनुपर्दछ र त्यसका लागी सरकारले पनि आवश्यक कुराहरुको परिपुर्ति गरिदिनुपर्दछ ।’

ब्याटमिन्टन खेल्न कै लागी होटल नमस्तेको कोर्टमा सिट नपाएर गोदावरी नगरपालिका – ३ चौँकीडाडा जान लागेका अत्तरियाका व्यवसायी नवराज आचार्यले शरिरलाई तन्दुरुस्त राख्नको लागी व्याटमिन्टनको भूमिका महत्वपुर्ण रहेको बताए । अहिलेको समयमा विभिन्न चिल्लो भरीएका खानेकुराहरु खानाले मानिसहरुमा मोटोपना बढ्नुका साथै विभिन्न किसिमका रोगहरु समेत लाग्न थालेको बताउदै उनले ब्याटमिन्टनले शरिरलाई स्वस्थ राख्न मद्दत गरिरहेको बताए ।

‘रोगहरु हटाउनका लागी पसिना निकाल्न जरुरी छ, त्यसका लागी ब्याटमिन्टन सबैभन्दा उपयुक्त खेल हो’ उनले भने ‘किनकी यसले पुरै शरिर नै चलायमान गर्छ, जसका कारण शरिर स्वस्थ र स्र्फुत बन्दछ ।’ उनले सबैको पहुँचको खेल र महंगो खेल पनि नभएकाले यसमा सबैको रुचि बढीरहेको बताए ।

उनले ईन्डोर खेलमैदान नहुँदा ब्याटमिन्टन खेलाडीहरुलाई समस्या भैरहेको बताए । ‘ब्याटमिन्टन ईन्डोरमा खेलिने खेल हो, तर बिडम्बना भन्नुपर्छ, यहाँका राजनीतिक दलहरुले जित्दै गएपनि कर्भडहल, ईन्डोर खेलमैदान लगायतका संरचना बनाउन सकेनन्’ उनले भने ‘अहिले पानी परेको अवस्थामा खेल नखेली बस्नुपर्ने अवस्था छ, खै हेरौ अब चुनिने जनप्रतिनिधिहरुले केही गर्छन की ?’