अत्तरिया – पहिलो लहरको कोरोना महामारी देखि सुस्ताएको बजारमा अझै सुधार नआउँदा व्यवसायी चिन्तित बनेका छन । लामो सयम सम्म पनि बजार पुरानो लयमा नआउँदा व्यवसायीहरु चिन्तित बनेका हुन । एकातिर आर्थिक गतिबिधि सुस्ताउनु र अर्कोतिर बैंकको व्याजदर बढ्दा बैंकबाट लोन लिएर व्यवसाय गर्ने व्यापारीहरुका लागि अहिले ‘निल्नु न उकेल्नु’ भएको छ ।
‘अहिले व्यवसायीको अवस्था सर्प र छुचुन्नरोको जस्तो भएको छ’ गोदावरी चेम्बर अफ कमर्सका उपाध्यक्ष नईमुद्दीन भाटले भने ‘सर्प र छुचुन्नरोको जम्काभेट भयो भने सर्पको आँखा फुट्छ । जसले गर्दा सर्पले टोक्नै पर्ने हुन्छ । सर्पले टोक्यो भने आफै मर्छ ।’ उनले अहिले व्यवसायीहरुको पनि सर्पको जस्तै अवस्था भएको बताए । ‘हामी न व्यापार व्यवसाय बन्द गर्ने अवस्थामा छौ । न यसलाई निरन्तर अगाडी बढाउन सक्ने अवस्थामा’ अत्तरियामा रहेको सितारा ट्रेडर्सका संंचालक भाटले भने ‘व्यापार नहुँदा अहिले बैंकको व्याज र घरभाडा तिर्न पनि समस्या भएको छ ।’
उनले हार्डवेयरको पसलमा व्याजमा पैसा लिएर ठूलो लगानी गरेर राखेका सामान थन्किएको बताए । त्यसैमा बैंकको व्याजदर बढ्दा आफूहरु निकै मारमा परेको उनले बताए । उनले भने ‘अहिले व्याजदर बढ्दा सबैभन्दा बढी मारमा व्यवसायी परेका छौ । यसलाई छिटो घटाउनु पर्छ ।’ यद्दपी अहिले हार्डवयर व्यवसाय सुस्ताउनुको पछाडी चुनाव भएको पनि बिश्लेषण गरिन्छ ।
व्याजदर वृद्धिको विरोधमा अहिले व्यवसायीले देशव्यापी रुपमा आन्दोलन थालेका छन् । कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले बैंकहरुले आफूखुसि व्याजदर बढाएर व्यवसायीको ढाड सेक्ने काम गरेको बताए । उनले राज्यले पनि अहिलेको अर्थतन्त्र प्रतिकुल हुने गरी ल्याएका नीतिका कारण झन समस्या बढेको बताए ।
‘राज्यले अहिले ठूलो व्यवसाय गर्ने व्यवसायीलाई फाइदा पुग्ने गरी नीति ल्याएको छ । जसबाट ति व्यवसायीलाई फाइदा भएपनि साना प्रत्यक्ष ग्राहक संग जोडिएका व्यवसायी भने मारमा परेका छन’ उनले भने ‘अहिले साना व्यवसायीको सामान नै बिक्री हुन छोडेको छ । यसको मुख्य कारण मुल्यवृद्धि हो ।’ उनले अहिले रुस, युक्रेन बिच भएको युद्धको प्रभावमा पनि साना व्यवसायी परिरहेको बताए । ‘रुस युक्रेन युद्ध कारण अहिले भारतीय बस्तुले खाडी मुलुकमा बजार पाइरहेका छन । जसले गर्दा नेपालमा ति बस्तुको मुल्य बढ्न गएको छ’ उनले भने ‘यसको बढी प्रभाव सुदूरपश्चिमका तराइका जिल्लामा परेको छ । जहाँ खुला सीमानाकाका कारण चोरी निकासी बढेको छ । चोरी निकासी बढ्दा पनि साना व्यवसायी मारमा परेका छन ।’
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना साउन र भदौको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार पनि अहिले तराईका जिल्लामै मुल्य वृद्धि बढेको देखाएको छ ।
गत साउन र भदौमा तराईको मूल्यवृद्धि दर सबैभन्दा धेरै ९.३३ प्रतिशत छ । पहाडमा ८.८२ र हिमाली क्षेत्रमा ६.६८ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । काठमाडौं उपत्यकाको मूल्यवृद्धि दर भने ७.६२ प्रतिशत छ । साउन र भदौमा खाद्यान्नको भाउ ८.१७ प्रतिशतले बढ्दा गैरखाद्य पदार्थ ९.०२ प्रतिशतले महँगिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्षको भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल १७.२९, घिउ तथा तेल १४.५३, रेष्टुरेण्ट तथा होटलको सेवा १२.३०, मदिराजन्य पेय पदार्थ १०.२४ र तरकारी ९.९४ प्रतिशत महँगिएको छ । यस्तै गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात २३.४१, स्वास्थ्य १०.५४, फर्निसिङ तथा घरायसी उपकरण ९.२५, शिक्षा ९.११ र घरायसी उपयोगका वस्तुको मूल्य ७.६९ प्रतिशतले बढेको छ ।
यसरी मुल्यवृद्धिले एकातिर उपभोक्ता मारमा परेका छन भने अर्कोतर्फ बजारमा आर्थिक कृयाकलाप घट्दा साना व्यवसायी पनि मारमा परेका छन ।