अत्तरिया – कैलाली चेम्बर अफ कमर्सले व्याजदर घटाउन माग गर्दै नेपाल राष्ट्रिय बैंक क्षेत्रीय कार्यालय धनगढी, जिल्ला प्रशासन कार्यालय कैलाली र कैलाली भन्सार कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । बिहिबार कैलाली चेम्बर अफ कमर्स, गोदावरी चेम्बर अफ कमर्स र गौरीगंगा चेम्बर अफ कमर्सले सयुक्त रुपमा ३ वटै कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन ।
चेम्बर अफ कमर्सले बुझाएको ज्ञापन पत्रमा अहिलेको विषमा परिस्थितिमा आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन उच्च व्याजदरले सम्भव नदेखिएकाले व्याजदर घटाउने तर्फ आवश्यक पहल गर्न सुझाव सहित माग गरिएको छ ।
नेपाल राष्ट्रिय बैंकलाई बुझाइएको ज्ञापन पत्रमा व्याजदर नियन्त्रणको लागि हाल विद्यमान स्प्रेड दर ४.४ मा १ प्रतिशत घटाउनु पर्ने माग गरिएको छ । यस्तै बैंकहरुको आधार दरलाई यथासक्य न्यूनतम विन्दुमा कायम गरिनु पर्ने, कर्जामा आधारदरको अधिकतम २ प्रतिशत सम्म प्रिमियम थप हुने गरी व्यवस्था गरिनु पर्ने, विगत ६ महिनामा ५ प्रतिशतबाट ८.५ प्रतिसत पु-याएकोमा २ प्रतिसत सम्म प्रिमीयम थप हुने गरी व्यवस्था गरिनुपर्ने माग गरिएको छ ।
ज्ञापन पत्रमा CCD ratio ९० प्रतिशतको स्थानमा विगत बर्ष सरह CCD ratio प्रतिशत कायम गरिनु पर्ने, पुजिगत खर्च समयमै खर्च गरिनुपर्ने, स्थानीय, प्रदेश तथा संघिय सरकार अन्तरगतका निकायहरुको खातामा रहेको पुजिगत रकम खर्च हुन नसकेको अवस्थामा सो रकमको ९५ प्रतिशत रकम बाणिज्य बैंकहरु मार्फत कर्जा प्रवाह गर्ने सुविधा प्रदान गरिनु पर्ने माग गरिएको छ ।
ज्ञापन पत्र कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्ल ‘विप्लभ’ को नेतृत्वमा गएको टोलीले राष्ट्रिय बैंक क्षेत्रीय कार्यालय धनगढीका प्रमुख विनोद लेखकलाई बुझाएका थिए ।
सोही टोलीले जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी र कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत भीमराज आङदेङबेलाई पनि ज्ञापन पत्र बुझाएको थियो ।
सीमामा कडाई गर्न माग
प्रशासन कार्यालय र भन्सार कार्यालयमा बुझाईएको ज्ञापन पत्रमा खुला सीमानाकाका कारण नेपाली व्यवसायी मारमा परेकाले सीमा नाकामा कडाई गर्न माग गरिएको छ । नेपालमा व्यवसाय चौपट भएको अवस्थामा सीमा नाका भारतीय बजारमा भने भिड लाग्ने गरेकाले त्यसलाई रोक्न कडाई गर्नुपर्ने काम गरिएको हो ।
जसका लागि भारतीय बजारबाट १ हजार भन्दा माथिको सामान ल्याउँदा अनिवार्य भन्सार गराउनु पर्ने, खुल्ला सीमा लगायत भन्सार नाकामा सिसिटिभी क्यामेरा चौविसै घण्टा चालु राख्नुपर्ने, सीमामा एकतर्फबाट जाने र अर्कोतर्फबाट आउने व्यवस्था गरिनु पर्ने, घरायसी सामानको एकद्धार प्रणाली मार्फत छिटो र सहज तरिकाले भन्सार प्रज्ञापन पत्रभरी ल्याउने व्यवस्था मिलाउनु पर्ने माग ज्ञापन पत्र मार्फत गरिएको छ ।
त्यस्तै भारतीय बजारबाट प्रवेस गर्दा ल्याइएको सामानको अनिवार्य रुपमा चेकजाँच गराउनुपर्ने, भारतबाट ल्याइएका सबै सामानहरुको भन्सार गरेका र नगरेकाको अभिलेख राख्नु पर्ने र चोरी तस्करीका कारण गाउँ–गाउँमा समानहरु पुग्नेहुँदा नेपाली व्यवसायीलाई बैंकको व्याज र घर भाडा तिर्न पनि समस्या भएको बताएका छन । दुवै कार्यालयहरुलाई बैंकको व्याजदर घटाउनको लागि पहल गरिदिन पनि माग गरिएको छ ।
केन्द्रिय नीति अनुसार ज्ञापन पत्र बुझाएका हौ : अध्यक्ष मल्ल
कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले चेम्बर अफ कमर्सको केन्द्रिय कार्यक्रम अन्तरगत कैलाली शाखा मार्फत पनि ज्ञापन पत्र बुझाइएको बताए । उनले नेपाल सरकारको मौद्रिक नीति र राष्ट्र बैंकले तोकेको व्याजदर भन्दा पनि बैंकहरुले बिभिन्न शिर्षकमा आफूसुखि व्याज लिन थालेपछि आफूहरुले त्यसको बिरोध गरेको बताए ।
‘यसले अर्थतन्त्रको केही सुचकाकंमा राम्रो देखिएको भनिएपनि यसले व्यवसायीलाई भने मारमा पारेको छ’ उनले भने ‘यो व्याजदरले व्यवसाय गर्न पनि सकिदैन् । व्यवसायी पलायन हुने अवस्थामा छन ।’
उनले यो भन्दा पनि कैलाली कञ्चनपुरका लागि खुला सीमा नाकाको समस्या बढी रहेको बताए । ‘सीमानाकाबाट चोरी पैठारी भएर सजिलै गाउँ गाउँमा समान पुग्ने गरेको छ । जसले गर्दा यस क्षेत्रको व्यवसाय झन बढी चौपट भएको छ’ उनले भने ‘यसरी कैलाली, कञ्चनपुर क्षेत्रमा व्यवसाय गर्न सक्ने अवस्था देखिदैन । यसका लागि तुरुन्त सीमा नाकामा कडाई गरिनु पर्छ ।’
उनले यही अवस्था रहिरहे व्यवसायी सटरमा नभएर सडकमा पुग्ने अवस्था आउने बताए ।