अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ८ जमुनानगरमा रहेको एकता प्रगतीशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३ लाख भन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको छ । सहकारीले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्त सम्म कुल ८ करोड ४६ लाख २८ हजार ८ सय ३८ रुपैयाको कारोबारमा १३ लाख ४१ हजार १ सय २४ रुपैया खुद नाफा आर्जन गर्न सफल भएको हो ।
बिहिबार संस्थाको १२औ वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी कोषाध्यक्ष नन्दा भट्टले संस्थाले आर्थिक क्षेत्रमा गरेको कारोबार र प्रगतीका बारेमा जानकारी दिएकी हुन । संस्थाले उक्त आर्थिक वर्षमा ६ करोड ५९ लाख ३४ हजार ८ सय ५७ रुपैया बचत गरेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार संस्थाले उक्त आर्थिक वर्षमा ६ करोड ८५ लाख २४ हजार २ सय ५३ रुपैया ऋण लगानी पनि गरेको छ ।
सहकारीका क्षेत्रमा फरक पहिचानका साथ आफुलाई स्थापित गराईरहेको एकता प्रगतीशिल सहकारी राष्ट्रिय सहकारी महासंघद्धारा प्रदेशमै उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८ बाट समेत सम्मानित भैसकेको छ । यसका साथै गत वार्षिक साधारण सभामा संस्थाले १ हजार ७ सय जनालाई १५ किलोका दरले आयोडिन नुन समेत वितरण गरेको थियो ।
सहकारीका अध्यक्ष सुरत बहादुर बोगटीले सहकारीको नियमितताका लागी धेरै चुनौतीहरु रहेको बताए । उनले व्यवासायीकरणमा ऋण लगानी नहुँदा असुलीमा अफ्ठ्यारो हुनु, ऋणी सदस्यहरुलाई व्यवसायीकरण गराउन नसक्नु, एकै सदस्य धेरै सहकारीहरुमा आवद्ध हुनु लगायतका मुख्य चुनौतीहरु सहकारीमा रहेको बताए ।
उनका चालु आर्थिक वर्षसम्म यस्ता समस्याहरु सहकारीमा देखिएपनि आगामी दिनमा कम हुने बताए । संस्थालाई माथी उकास्न कर्मचारीहरुको भुमिका महत्वपुर्ण हुने भएकाले आगामी दिनहरुमा तालीम तथा गोष्ठीको आयोजना गरी कर्मचारीहरुको क्षमता अभिवृद्धि गरिने उनले बताए ।
२०६६ सालमा ३१ जना महिला र १० जना पुरुष गरी ४१ जना शेयरसदस्यको रु. १ लाख ४७ हजार शेयरपुँजीबाट सुरु भएको सहकारीले अहिले विशाल रुप लिएको छ । संस्थामा आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ७ सय ५० शेयरसदस्यहरु र ९१ लाख ८१ हजार ७ सय शेयरपुँजी रहेको प्रतिवदेनमा उल्लेख गरिएको छ ।
सहकारीले आगामी वर्षहरुमा विकट क्षेत्रमा सेवा केन्द्र खोली नागरिकहरुलाई सेवा दिने लक्ष्य राखेको संस्थाका ऋण विभाग प्रमुख लक्ष्मण बोगटीले बताए । उनका अनुसार संस्थाले गोदावरी नगरपालिका वडा नं. ९ शेहरी र वडा नं. ४ हाटखोलीमा सेवा केन्द्र सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
सो अनुरुप सहकारीले सेवा केन्द्र सञ्चालनका लागी अनुमती पनि लिईसकेको उनले बताए । उनले हालसम्म पनि शेहरी र हाटखोलीमा वित्तिय संस्थाहरु स्थापना नहुँदा त्यहाँका नागरिकले समस्या खेप्नुपरेको बताए । उनले नागरिकहरुको सहजताका लागी नै उक्त स्थानहरुमा सेवाकेन्द्र सञ्चालन गर्न लागिएको बताए ।