खाेज्नुहाेस

जहाँ शीतलतासँगै अर्ग्यानिक खाना पाइन्छ

Image

धनगढी – तराईमा ३५/३८ डिग्रीको उखरमाउलो गर्मी छ । तर एक घण्टा माथि खानीडाँडामा भने बढीमा २२÷२४ डिग्री तापक्रमको शीतल मौसमले हरेकलाई बहारको अनुभूति गराइरहको हुन्छ । त्यसैमा फार्ममा हुर्काएका कालिज अनि लोकल कुखुरासँगै अर्ग्यानिक खानाका परिकारहरूको स्वाद लिन पाइने भएपछि कसको मन नलोभ्याउला र ?

धनगढीदेखि झन्डै ३० किलोमिटरको दूरी माथि पहाडमा रहेको खानीडाँडा क्षेत्रमा यतिबेला तराईको गर्मी बिर्साउने शीतल छ । हरेक गर्मीयाममा तराईको गर्मी छल्न खानीडाँडा धाउनेका लहर नै चल्छ । धनगढी महेन्द्रनगर मात्रै हैन, गर्मी मौसममा सीमावर्ती भारतका बासिन्दाको पनि खानीडाँडामा बाक्लै उपस्थिति हुन्छ ।

attariya hospital

स्थानीय उत्पादनका अर्ग्यानिक खाना, लोकल कुखुराको परिकारले खानीडाँडाको आकर्षणलाई बढाएको होटल व्यवसायीहरू बताउँछन् । ‘हामी ग्राहकहरूलाई सकभर सबै स्थानीय उत्पादनकै खानेकुरा उपलब्ध गराउँछौं,’ होटल व्यवसायी बालकृष्ण देवकोटाले भने, ‘गाउँबाट ल्याइएका लोकल कुखुरामा धेरैको आकर्षण हुन्छ ।’ अलि वर कालिज फार्मको अवलोकन गर्न पाउँदा झनै रमाइलो ।

पछिल्ला वर्षहरूमा खानीडाँडा खासगरि कैलाली, कञ्चनपुरको तराई क्षेत्र बासिन्दाका लागि गर्मी छल्न आकर्षक गन्तव्य बनेको छ । गर्मी सिजन सुरु हुनेबित्तिकै भरिभराउ हुने यहाँका होटल, कटेजहरूमा शुक्र र शनिबारका दिन त बास पाउनै मुस्किल हुने गर्छ ।

navjiwan hospital

‘यसपालि त तराईमा पोहोर–परार सालभन्दा पनि गर्मी भयो । गर्मी छल्नकै लागि तीन÷चार पटक खानीडाँडा गइसकेँं,’ धनगढीका आशिष भट्टले भने ‘दुई पटक त केटाकेटी र परिवारै लिएर गएँ ।’ गर्मी सिजनमा शुक्र र शनिबारको दिन त खानीडाँडा अत्यधिक घुइँचो हुने गरेको खानीडाँडाका होटल व्यवसायीहरू बताउँछन् । ‘शुक्रबारको दिन त कोठा पूरै प्याक हुन्छन्,’ ममता होटलका सञ्चालक बालकृष्ण देवकोटाले भने । खानडाँडी ओहोरदोहोर गर्ने युवायुवतीहरूको संख्या झन् बाक्लो हुन्छ ।

खानीडाँडा चम्केको धेरै वर्ष भएको छैन । दशकअघिसम्म खानीडाँडा कैलाली कञ्चापुरलगायत तराईका जिल्लाहरूबाट सुदूरपश्चिमका ७ पहाडी जिल्ला जाने सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुले खाना नास्ता खाने ठाउँमा सीमित थियो । पछिल्ला वर्षहरूमा भने यहाँ होटल व्यवसाय विस्तार भए । यहाँ थप सुविधासम्पन्न होटल रिसोर्ट निर्माण हुने क्रम बर्सेनि बढिरहेको स्थानीय व्यवसायीहरू बताउँछन ।

खानीडाँडामा हाल सानाठूला गरी ७५ बढी होटल सञ्चालनमा रहेको होटल व्यवसायीहरू बताउँछन् । गर्मी छल्नकै लागि खानीडाँडामा पिकनिक मनाउन जानेहरूको संख्या पनि बाक्लै हुन्छ । यहाँ राजमार्ग छेवैमा व्यवस्थित पिकनिकस्थल निर्माण गरिएको छ । धनगढी महेन्द्रनगबाट पिकिनिक मनाउन जानेहरू अधिकांश सोही स्थानमा रमाउने गर्छन् । खानीडाँडाभन्दा केही वर बुढीतोला नजिक पिकनिक स्प्ट बनाइएको छ ।

खानीडाँडाको आकर्षण अझ बढाउन बजारदेखि करिब डेढ घण्टाको दूरीमा रहेको कम्पासेधुरामा भ्यु टावर निर्माण भइरहेको छ । १ हजार ७ सय ८० मिटर दूरीमा रहेको कम्पासेधुराबाट हिमाल, पहाड र तराईको रमाइलो दृश्यावलोकन गर्न मिल्ने रमणीय ठाउँ हो । कम्पासेधुराबाट कैलालीको चिसापानी पुल अनि कञ्चनपुरको दोधारा चाँदनीको झोलुंगे पुल, सैपालदेखि भारतका सहरहरूको मनमोहक दृश्य देखिन्छ ।

बुढीतोलमा रहेको बाख्रा विकास फार्म पनि यस क्षेत्रको अर्को आकर्षण हो । रमणीय ठाउँमा बाख्रा अनुसन्धान केन्द्रका रूपमा दशकौंअघिदेखि सञ्चालनमा रहेको यो फार्म अवलोकन गर्न किसानहरू मात्रै हैन, अन्य पर्यटकहरू पनि जाने गरेका छन । दुई वर्षअघि खानीडाँडा क्षेत्रमा दुईवटा कालिज फार्म पनि स्थापना गरिएका छन ।

कान्तिपुरबाट