खाेज्नुहाेस

कैलालीमा लोपोन्मुख राजीलाई सुरक्षित आवास हस्तान्तरण

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत कैलालीको भजनी नगरपालिका – ९ भुरुवामा २५ घर निर्माण गरी हस्तान्तरण गरेको छ ।

लोपोन्मुख राजी परिवारका लागि निर्माण गरिएका सुरक्षित आवास प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीले राजी समुदायलाई हस्तान्तरण गरेकी हुन। आवास निर्माणका लागि २०७७ माघमा राजी जातिको परम्परागत कच्ची घर भत्काएको थियो । सुरक्षित आवास प्राप्त गरेपछि राजी समुदाय खुसी भएका छन । स्थानीय मीना राजीले घर पाउँदा निकै खुसी लागेको बताईन ।

attariya hospital
navjiwan hospital

‘वर्षौंदेखि झुप्रोमा बस्दै आएकाका लागि नयाँ घर खुसीको उपहार भएको छ’ स्थानीय डम्मर राजीले भने ‘वर्षौंदेखि झुप्रोमा बस्न बाध्य थियौँ । वर्षामा नयाँ घर पाएपछि खुसियाली छाएको छ ।’ प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को स्वीकृत कार्यक्रमअनुसार भुरुवाका लोपोन्मुख राजी समुदायको २५ परिवारका लागि सुरक्षित आवास निर्माण अगाडि बढाइएको थियो । सोही आवमा ठेक्का भएपछि पुस २९ गते मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमबीच सुरक्षित आवास निर्माणको शिलान्यास गरेका थिए ।

तत्कालीन समयमा ६ महिनाभित्रै २५ घर निर्माण गर्ने गरी ठेक्का भए पनि ठेक्का पाएको बी एन्ड सी बिल्डर्सले तदारुकताका साथ काम नगर्दा निर्माण कार्यमा ढिलाइ भई बल्ल घर हस्तान्तरण गरिएको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत सो निर्माण कार्य भएको थियो ।

गुजाराका लागि वनजङ्गल र जलमा निर्भर यो समुदायको सुरक्षित आवास निर्माणका लागि भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण कम्पनीसँग एक करोड एक लाख २९ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले दुईकोठे पक्की घरमा जस्ताको छाना राख्नुपर्ने, प्लास्टरसहित घरको रङरोगन गर्नुपर्ने र चर्पी बनाउनुपर्ने थियो ।