बाजुरा – बाजुराको खप्तड छेडेदह गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्न सुरु गरेको छ । सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक र अशक्तहरूले घण्टौं हिँडेर पालिकाको केन्द्रमा पुग्दा सास्ती भोग्नुपरेकाले बैंकसँगको सहकार्यमा वडा कार्यालयबाटै भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको पालिकाले जनाएको छ ।
‘अब खप्तड छेडेदहले हिमालयन बैंकको शाखाबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न प्रत्येक ३/३ महिनामा वडावडामा घुम्ती शिविर सञ्चालन गर्नेछ,’ पालिका अध्यक्ष दिलबहादुर रावतले भने, ‘राज्यले वृद्धवृद्धालाई सुविधाका नाममा सास्ती दिएजस्तो भएको थियो ।
भत्ता बुझ्नकै लागि वृद्धवृद्धा र अशक्त नागरिकले सकिनसकी पालिकाको केन्द्रमा पुग्नुपर्ने अवस्था हटाएका छौं ।’ उनले वृद्धवृद्धाहरू एक/दुई दिनसम्म हिँडेर पालिका आउँदा निकै दुःख पाउने र भत्तामा पाएको रकमसमेत आउजाउमै खर्च गर्नुपर्ने अवस्था रहेकाले वडाबाट भत्ता पाउने व्यवस्था गरिएको बताए ।