काठमाडौं – आज विश्व सिमसार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष नेपालमा दिवसको नारा ‘दलदल, पानी, पोखरी र खोला : संरक्षण गरे सर्वहित होला’ भन्ने तय गरिएको छ ।

नेपालका १० वटा क्षेत्रहरू रामसार सुचीमा सूचीकृत छन् । नेपालको ६० हजार ५६१ हेक्टर क्षेत्र रामसारमा पर्दछ । पहिलो पटक सन् १९८७ डिसेम्बर १७ मा नेपालको कोशी टप्पु वन्यजन्तु आरक्षलाई रामसार सूचीमा सूचीकृत गरिएको थियो । कोशी टप्पुसहित बिसहजारी तथा आसपासका तालहरू, घोडाघोडी ताल क्षेत्र, जगदिशपुर जलाशय, रारा, फोक्सुण्डो, गोसाइँकुण्ड तथा आसपासका क्षेत्र रामसारमा सुचीकृत छन् ।

यस्तै‚ गोक्यो तथा आसपासका तालहरू, माईपोखरी र पोखरा उपत्यकाका तालहरू पनि सूचीकृत भइसकेका छन् । तर‚ पछिल्लो समय रामसार क्षेत्र मासिँदै गएको चिन्ता व्यक्त गरिएको छ । मानवीय अतिक्रमणका कारण सिमसार क्षेत्रहरू संकटमा पर्दे गएको भन्दै यसलाई जोगाउने तथा महत्वबारे सचेतना बढाउने कार्यक्रममा जोड दिँदै यो दिवस मनाइन्छ ।

















