खाेज्नुहाेस

रामारोशन गाउँपालिकामा कर्मचारी अभाव, ६२ जनाको दरबन्दी भएपनि १५ जना मात्रै कार्यरत

Image

अछाम – जिल्लाको रामारोशन गाउँपालिकामा ६२ जना कर्मचारीको दरबन्दी रहेको छ । यो गाउँपालिकामा अहिले १५ जना स्थायी कर्मचारी मात्रै छन् । बाँकी ४७ जना कर्मचारीको अभाव गाउँपालिकाले करारमा कर्मचारी नियुक्त गरेर पूरा गरेको छ भने वडा कार्यालय र गाउँपालिकाको प्रशासन गरी दुई क्षेत्र एउटै कर्मचारीले सम्हालेको छ ।

अहिले पनि गाउँपालिकाका पाँच वडा कार्यालय वडा सचिवविहीन छन् । वडा नं ३ र ४ मा वडा सचिव भए पनि अन्य पाँचवटा वडा कार्यालयको जिम्मा शिक्षा शाखा, स्वस्थ्य शाखा तथा अन्य शाखामा कार्यरत कर्मचारीहरुलाई जिम्मेवारी दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारी बताउछन्।ग्रामीण क्षेत्रमा कर्मचारीहरु जान भने मान्दैनन् ।

attariya hospital

अछामका अधिकांश स्थानीय तह अहिले पनि निमित्तकै भरमा चलेका छन् । सङ्घीय संरचनामा देश गइसकेको भए पनि अझै कर्मचारी व्यवस्थापनमा भने निकै ढिलाइ हुँदै आएको छ । एकातिर दरबन्दीअनुसार कर्मचारी नहुनु समस्या छ भने अर्कोतिर सम्बन्धित कार्यक्षेत्रमा नगई बिदामै बसेर आफ्नो काज मिलाउन समेत कैयौँ कर्मचारीहरुले गर्दै आएका छन् । त्यसको मारमा रामारोशन गाउँपालिका पनि परेको छ ।

‘कर्मचारी अभावका कारण सेवाग्राहीको कार्य सम्पादनमा निकै समस्या रहँदै आएको छ । अर्कोतिर सेवाग्राहीलाई पनि निकै सास्ती हुँदै आएको छ,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने, ‘गाउँपालिकाका शाखामा कार्यरत कर्मचारीहरुले शाखाको काम गर्नुपर्ने बाध्यता भएका कारण गाउँपालिकामै बस्नुपर्ने र वडा कार्यालयमा जानसक्ने अवस्था नरहेकाले पनि सेवाग्राहीले वडाबाटै हुने कामका लागि पनि गाउँपालिका पुग्नुपर्ने बाध्यता छ ।’

navjiwan hospital

उनले सङ्घीय र प्रदेश सरकारलाई पनि पटकपटक कर्मचारी व्यवस्थापनका लागि आग्रह गर्दा पनि त्यसको सुनुवाइ नभएको बताए । त्यही क्षेत्रबाट निजामतीमा प्रवेश गरेका कर्मचारीहरुले दुर्गम रोजे पनि बाहिरबाट कर्मचारीलाई ल्याएर व्यवस्थापन गर्न निकै चुनौती देखिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारी बताउछन् ।

‘कर्मचारी आउँछन् तर आउने समयमै सरुवा ल्याएर आउने र हाजिर लगाएर सरुवा हुने गरेका छन्,’ भण्डारीले भने, ‘त्यस्तै परे एकदुई महिना बस्छन् । त्यसपछि फेरि अन्य शाखाको कर्मचारीहरुलाई जिम्मेवारी दिनुको अर्को विकल्प हुँदैन ।’ प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रहेको गाउँपालिकामा अहिलेसम्म दुईजना प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा उपस्थित भए पनि उनीहरु दुईचार महिनामै सरुवा भएर गएपछि २०७६ सालदेखि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा छ ।

‘कर्मचारीका लागि हामिले निकै प्रयत्न गर्दै आएका छौँ । स्वास्थ्य र शिक्षा शाखामा कर्मचारीहरु व्यवस्थापन गर्न सकिए पनि प्रशासन तथा वडा कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन अझै हुनसकेको छैन,’ गाउँपालिका अध्यक्ष झङ्करबहादुर साउँदले भने, ‘आएका कर्मचारीहरु पनि बस्न मान्दैनन् ।

भौगोलिक विकटताका कारण पनि हुनसक्छ, हामीले चार वर्ष गाउँपालिका निमित्तको भरमा चलाउनु परेको छ ।’ उनले जनतालाई गाउँगाउँमा सिंहदरबार आएको अनुभूति अझै हुन नसक्नुको मुख्य कारण मध्येको एक कर्मचारी अभाव पनि भएको बताउँदै सङ्घीय संरचनाअनुसार आधारभूत कुराहरूको व्यवस्थापनमा देखिएको उल्झनले पनि जनतामा निराशा देखिएको बताए ।

‘अब वडा कार्यालयबाट हुने कामका लागि एउटा सेवाग्राही गाउँपालिका पुग्नुपर्छ भने त्यहाँ न्यायोचित हुँदैन । फेरि गाउँपालिकाले सबै कर्मचारी व्यवस्थापन गर्न त्यत्रो गाउँपालिकाको स्रोत पनि छैन,’ गाउँपालिकाका अध्यक्ष साउँदले भने, ‘प्रदेश सरकारले लोकसेवाको विज्ञापन खोल्नै सकेको छैन । सङ्घीय सरकारसँग कर्मचारी माग गर्दा त्यसको सुनुवाइ नै हुँदैन । यस्तो अवस्थामा जनप्रतिनिधिहरुले मात्रै के गर्ने ?’

रासस