बैतडी – बैतडीको दशरथचन्द नगरपालिका – ११ मा सम्पन्न एनआरवाइसी टि–१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले हात पारेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक एनआरवाइसी टीमलाई ६ विकेटले पाखा लगाउदैं कैलपालले उपाधि हात पारेको हो ।
एनआरवासीले दिएको ११९ रनको लक्ष्य कैलपालले ९.१ ओभरमा ४ विकेट गुमाउदै पार गर्यो । जसमा ओपनर प्रदीप चन्दले अर्धसतकीय पारी खेल्दै नटआउट ७३ रन जोडे । यस्तै अर्का ओपनर राजु भाटले १५ र महेश चन्दले १८ रन बनाए । एनआरवाइसीका लागि कप्तान मदन चन्दले २ विकेट हात पारे ।


त्यसअघि बगलेखान खेलमैदानमा पहिला ब्याटिंग गरेको एनआरवाइसीले निर्धारित १० ओभरमा ३ विकेटको क्षतिमा ११८ रन जोड्यो । उसका लागि राम चन्दले सर्वाधिक ६४ रनको योगदान गरे । कैलपालका लागि महेश चन्द र गोेविन्द नाथले एक एक विकेट हात पारे । म्यान अफ द फाइनल कैलपालका प्रदीप चन्द भएका स्कोरर मुकेश चन्दले बताए ।
उपाधिसंगै कैलपालले २० हजार पुरस्कार हात पारेको छ भने उपविजेता एनआरवाइसीले १० हजारमा चित्त बुझायो । यसैबीच प्रतियोगिताभर २२० रन बनाउदैं २ विकेट हात पारेका कैलपालका प्रदीप चन्द म्यान अफ द सिरीज भए । उनले २ हजार पुरस्कार पाए ।
यस्तै १९५ रन बनाउन सफल कैलपालकै राजु भाट बेस्ट ब्याट्सम्यान, ९ विकेट पारेका एनआरवासीका रिसिकेश बोहरा बेस्ट बलर र एनआरवाइसीकै रोहित चन्द उदयीमान खेलाडी चुनिए ।
नागार्जुन रणसैनी युवा क्लव बठ्ठा (एनआरवाईसी) को आयोजनामा गत पुस २४ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको थियो ।















