गुलरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्ने कार्य सुरु हुने भएको छ ।
शनिबार नगरप्रमुख कर्ण बहादुर हमाल र राष्ट्रिय भूमि आयोगबीच पहिलो चरणमै लिखित सहमती भएपछि लालपूर्जा वितरण गर्ने कार्य अगाडी बढ्ने भएको हो ।


आयोगको पहिलो चरणको लालपुर्जा वितरणमा कृष्णपुर नगरपालिका पनि परेकाले लालपुर्जा वितरणको कार्य द्रुत गतीमा अगाडी बढाईने नगरप्रमुख कर्ण बहादुर हमालले जानकारी दिए ।
नगरपालिकामा लालपुर्जा पाउन नसकेका नगरबासीहरुको संख्या बढी रहेको बताउदै उनले उक्त सम्झौताले अव्यवस्थीत रुपमा बसोबास गर्दै आएका नगरबासीहरुले जग्गाको स्वामित्व पाउने बताए ।
कृष्णपुरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भुमी सम्बन्धी समस्या समाधान आयोगमार्फत कार्य सुरु भएको थियो । उक्त आयोग अन्तरगत नगरपालिकामा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन गर्ने कार्य समेत सम्पन्न भैसकेको थियो ।
यसअघि लगत संकलन गरिएकाहरुलाई लालपुर्जा वितरण गरिने र छुटेकाहरुको पुनः लगत संकलन गरिने राष्ट्रिय भुमि आयोगले जनाएको छ ।

















