डोटी – डोटीमा प्रहरीले १७० लिटर घरेलु मदिरा (छ्याङ) नष्ट गरेको छ । प्रहरीले दिपायल सिलगढी नगरपालिका–७ को सडक खण्डमा अस्थायी टहरा बनाइ लुकिछिपी मदिरा उत्पादन गर्ने ४ जनाले उत्पादन गरेको मदिरा नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बाजुरा बुढीनन्द नगरपालिका–९ पाण्डुसैन घर भइ डोटी दिपायल सिलगढी नगरपालिका–७ को सडक खण्डमा अस्थायी टहरा बनाइ बस्ने मानबहादुर थापाले उत्पादन गरेको ६० लिटर, लक्ष्मी गुरुङले ४५ लिटर, अनिता बोगटीले ३० लिटर र दिपायल सिलगढी–६ बस्ने लक्ष्मी भण्डारीले उत्पादन गरेको ३५ लिटर गरी जम्मा १७० लिटर छ्याङ नष्ट गरिएको छ ।

समुदायमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्न प्रहरीले जाँड–रक्सी नष्ट गर्दै आएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए । पछिल्लो केही हप्तायतादेखि जिल्ला प्रहरी कार्यालय डोटीको निर्देशनमा जाँड–रक्सी नष्ट गर्ने अभियान सञ्चालन भइरहेको छ ।
















