खाेज्नुहाेस

अछाममा फेरि बन्दै छाउगोठ

Image

अछाम – अछाममा २ बर्ष अगाडी भत्काइका छाउगोठ पुनः निर्माण हुन थालेका छन । २ बर्ष अगाडी गृह मन्त्रालयले नै परिपत्र गरेर अछाम सहित १९ जिल्लामा छाउगोठ भत्काउन निर्देशन अनुसार गोठ भत्किएका भएपनि पुनः धमाधम निर्माण हुन लागेका हुन ।

मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रहरी कार्यालय अछामले जिल्लाका ९१ वडाका प्रत्येक टोलमा छाउगोठ भत्काउने अभियान सञ्चालन गरिएको थियो । जनप्रतिनिधि, प्रहरी र स्थानीयको संलग्नतामा अछाममा १० हजारभन्दा बढी गोठ भत्काइएका थिए । तर, अहिले मुलुकी अपराध संहिताले नै निषेध गरेको छाउपडी भने रोकिएका छैनन् ।

attariya hospital

टोल स्तरमा वडा सदस्य, वडामा वडाध्यक्ष, पालिका स्तरमा प्रमुख/अध्यक्ष, उपप्रमुख÷उपाध्यक्षले नेतृत्व गरेको गोठ भत्काउने अभियान बन्द भएपछि गाउँमा फेरि गोठ बन्न थालेको हो । कोरोना संक्रमण फैलिएसँगै छाउगोठ भत्काउने अभियान सुस्त बन्दै गएको हो । अभियान रोकिएपछि भत्काएका प्रायःजसो गाउँमा फेरि गोठ बनाइरहेका छन । ‘केही समयका लागि अभियान सञ्चालन गरेजस्तो गर्छन । अनुगमन कोही गर्दैनन । अहिले फेरि गाउँमा धमाधम गोठ बन्न थालेका छन्,’ अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ की किशोरी पूजा शाहले भनिन्, ‘त्यतिबेला सरकारले नै अभियान चलायो । अब त केही परिवर्तन होला, अभियानले निरन्तरता पाउला भन्ने सोचेका थियौं, तर अवस्था जस्ताको तस्तै छ, कसैले मतलब गर्दैनन ।’

छाउगोठ भत्काउने निकायले बेलाबेलामा अनुगमन गर्नुपर्ने, अभियानलाई निरन्तरता दिनुपर्ने र कानुनी कारवाही अगाडी बढाउनुपर्ने उनको भनाइ छ ।

navjiwan hospital

गतवर्ष अभियानको क्रममा छाउगोठमा बस्ने परिवारका सदस्यलाई वडा कार्यालयबाट दिने सिफारिस र अन्य सेवासुविधा रोक्न जिल्ला प्रशासन कार्यालयले जिल्लाका ९१ वटै वडालाई निर्देशन दिएको थियो ।

तर कुनै पनि स्थानीय तहले कार्यान्वयन गरेनन । चालु आर्थिक वर्षमा अछामका १० वटै स्थानीय तहमा छाउपडी कुप्रथा न्यूनीकरण अभियान सञ्चालन र अनुगमनका लागि कुनै कार्यक्रम र योजना छैन ।

वडासभादेखि नगरसभासम्म छाउपडी कुप्रथासम्बन्धि कुनै योजना नआएको मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए । जनप्रतिनिधिले यसखाले सामाजिक कुरीति हटाउन चासो दिए अझै पनि कार्यपालिकाबाट निर्णय गरेर बजेटको व्यवस्था गर्न सकिने उनको भनाइ छ ।

स्थानीय तहलाई पनि सँगै लगेर छाउगोठ भत्काउने अभियानलाई चाँडै निरन्तरता दिने तयारी भइरहेको अछामका डीएसपी तुल्सीराम अर्यालले बताए । ‘कोरोना संक्रमणका कारण छाउ गोठ भत्काउने अभियान र जनचेतना जगाउने कार्यक्रम स्थगित भएको थियो ।

एक साताभित्र फेरि सुरु गर्ने तयारीमा छौं,’ उनले भने, ‘कता फेरि गोठ बनाए, कताका महिला त्रिपालमा बस्छन् भन्ने जानकारी संकलन गर्दैछौं ।’